प्याब्सनको टेलिभिजन सिकाइ : यस्तो छ समय र तालिका

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले कक्षा नर्सरीदेखि १० कक्षासम्म विद्यार्थी पढाउनेगरी विभिन्न तीनओटा टेलिभिजनसँग सम्झौता गरेको छ । अब असार १ गतेदेखि ती टेलिभिजनबाट पढाइ हुनेछ ।

प्याब्सनले जनता टेलिभिजन, टिभी टुडे, योहो टेलिभिजन र टिभी टुडेकै अर्को च्यानल टिभी वानबाट दूरशिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । ‘सबै टेलिभिनजसँग सम्झौता भैसकेको छ । अब १ गतेदेखि शिक्षक/शिक्षिकाले पढाउनुहुनेछ ।’ प्याब्सन केन्द्रीय उपमहासचिव एवं दुरशिक्षा कार्यक्रम समिति सदस्य आरबी कटवालले खुल्लापाटीलाई जानकारी दिए ।

‘हरेक टिभीमा तह अनुसार छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । यसले सबैलाई सहज हुने विश्वास लिएका छौँ ।’ उनले थप स्पष्ट पारे ।

प्याब्सनले हरेक कक्षाका विद्यार्थीका लागि फरक फरक टेलिभिजन छनौट गरेको हो । जनता टेलिभिजनबाट कक्षा ७, ८, ९ र १० कक्षाका विद्यार्थीलाई शिक्षण गराइनेछ । जनता टेलिभिजनले विहान १० बजेर ५ मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्म प्रसारण गर्नेछ ।

त्यस्तै, टिभी टुडेबाट कक्षा २ देखि ६ कक्षा सम्मका विद्यार्थीलाई शिक्षण गराइने भएको छ । टिभी टुडेले दुई बजेर ५५ मिनेटदेखि ५ बजेसम्म प्रसारण गर्नेछ । त्यस्तै कक्षा नर्सरी, एलकेजी, युकेजी र कक्षा एकको शिक्षण सिकाईका लागि भने योहो टेलिभिजनसँग सम्झौता भएको छ । यो हो टेलिभिजनमा ९ देखि १० बजेसम्म नर्सरी र एक बजेदेखि चार बजेसम्म एलकेजी, युकेजी र वानको पढाइ हुनेछ ।

प्याब्सनलाई टिभी टुडेले थप राहत दिएको कटवालले बताए । टिभी टुडेकै अर्को च्यानल टिभी वानले भने टिभी टुडेबाट प्रसारण हुने शिक्षण सिकाईको रेकर्डेड प्रसारण गरिदिने भएको छ । विहान ८ बजेदेखि १० बजेसम्म २ देखि ६ कक्षा सम्मको प्रसारण पुनः गर्ने र फेरि १ बजेदेखि ३ बजेसम्म गर्ने भएको छ ।

त्यस्तै, बेलुका ५ बजेदेखि ७ बजेसम्म फेरि प्रसारण हुने भएको छ । यसरी टिभी वानले तीन पटक प्रसारण गरिदिने कटवालले जानकारी दिए ।

यस्तो छ रुटिन
प्याब्सनले रुटिन र शिक्षकशिक्षिका पनि तय गरेको छ ।  प्याब्सनले रुटिन पनि सार्वजनिक गरेको छ । लामो समयदेखि शिक्षण क्षेत्रमा रहेका दक्ष अनुभवी तथा तालिमप्राप्त शिक्षक/शिक्षिकाले अध्यापन गराउने कट्वालले बताए । ‘अनुभव र दक्षताले खारिएका शिक्षक/शिक्षिका छनौट गरेका छौँ । विद्यार्थीहरुलाई ठूलो राहत मिल्नेछ ।’ उनले खुल्लापाटीलाई बताए ।

यस्तो छ कक्षा २ देखि ६ सम्मको रुटिन : टिभी टुडे

प्राथमिक तहमा कक्षा दुईको २ बजेर ५५ मिनेटदेखि ३ बजेर २० मिनेटसम्म, कक्षा तीनको ३ बजेर २० देखि ३ बजेर ४५ सम्म, कक्षा ४ को ३ बजेर ४५ मिनेटदेखि ४ बजेर १० मिनेटसम्म, कक्षा ५ को ४ बजेर १० मिनेदेखि ४ बजेर ३५, कक्षा ६ को ४ बजेर ३५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कक्षा सञ्चालन हुनेछ ।

माध्यमिक तहको रुटिन : जनता टेलिभिजन 

पूर्व प्रथामिक तहमा भने नर्सरीको विहान पढाइ हुने भएको छ । विहान ९ बजेदेखि १० बजेसम्म नर्सरीको पढाई हुने र एक बजेदेखि दुई बजेसम्म एलकेजी, दुईदेखि ३ बजेसम्म युकेकेजी र तीनदेखि ४ बजेसम्म कक्षा एकको पढाई हुने भएको छ ।

वैकल्पिक शिक्षणसँगै संस्थागत विद्यालयले विद्यार्थी तथा अभिभावकप्रतिको दायित्व, जिम्मेवारीलाई थप उजागर गरेको उपमहासचिव कट्वालले बताए । ‘ यो अवस्थामा घरघरमैँ शिक्षण गराउने गरी हामीले अनलाइनबाट गराएकै हौँ । रेडियोबाट प्रदेश कमिटीले गर्नेछन् । टेलिभिजनबाट पनि शिक्षण सुरु गर्न लागेका छौँ । प्यान्डेमिक सिचुएशनमा अभिभावक, विद्यार्थीप्रतिको दायित्व हामीले पूरा गर्दै गएका छौँ । ’ उनले थप स्पष्ट पारे ।

प्रसारण भएका सामग्री सम्बन्धित टेलिभिजनको युट्युबमा पनि हुने भएकाले युट्युबबाट पनि हेर्न सकिने प्याब्सनले जनाएको छ ।

र, यो पनि पढ्नुहोस् :