विद्यार्थीका लागि सिकाई चौतारी अनलाइन सुरु

भक्तपुर – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षाको पठनपाठनका लागि छुट्टै एडु पोर्टल ‘सिकाइ चौतारी’ सुरु गरेको छ । कोरोना भाइरसका कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै विद्यार्थी घरमै बस्नुपरेकाले विद्यार्थीहरुलाई लक्षित गरी सिकाई पोर्टल सुरु गरेको केन्द्रले जनाएको छ ।

यो पोर्टलमा कक्षा १ देखि १० सम्मका अनलाइन सामग्री समावेश गरिएको केन्द्रका निर्देशक गेहनाथ गौतमले खुल्लापाटीलाई जानकारी दिए । http://learning.cehrd.gov.np/ मा क्लिक गरी सामग्री हेर्न सकिने उनले बताए । पोर्टलमा कक्षा १ देखि १० सम्मका विषयगत सिकाइ सामग्रीहरु नेपाली र अंग्रेजी भाषामा राखिएको छ ।

पोर्टलमा कथा संग्रहदेखि अरु विभिन्न रोचक सामग्री समावेश गरिएको छ । सागग्री राख्ने क्रम जारी रहेको उनले बताए । इन्टरनेट पहुँच नभएका विद्यालयले डाउनलोड गरी सामग्री उपयोग गर्न सक्ने उनको भनाइ छ । सिकाइ चौतारी अनलाइनमा राखिएका सामग्री पाठ्क्रमअनुसार रहेका छन् ।

यसअघि केन्द्रले कक्षा इसिडिदेखि ३ सम्मका लागि छुट्टै पठन सामग्री तयार पारिसकेको छ ।