नेक्ससमा लागु औषध नियन्त्रण तथा साइबर अपराध न्युनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले लागू औषध नियन्त्रण तथा साईबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । सामुदायिक सेवा तथा विकास समाज एवं सामुदायिक प्रहरी सेवा केन्द्र र नेक्सस् इन्टरनेशनल एकेडेमीको संयुक्त आयोजनामा भएको कार्यक्रममा लागु औषध प्रयोग, नियन्त्रण र नियमनबारे भइरहेका प्रयास लगायतबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा कर्यपत्र प्रस्तुत गर्दै लागु औषध केन्द्रीय ब्युरोमा कार्यरत प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले लागु औषधको बढ्दो प्रयोग, नियन्त्रणका लागि भइरहेका प्रयासबारे जानकारी दिनुभयो । त्यसक्रममा वागमती प्रदेशमा सबै भन्दा बढी लागु औषध प्रयोग कर्ता रहेको जानकारी दिँदै उहाँले यस वर्षमा मात्रै ४१०० मुद्धा दर्ता गरिएको जानकारी दिनुभयो । त्यसक्रममा ६ हजार बढीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

त्यसक्रममा भिडियोसन्देशमार्फत पनि लागुऔषध प्रयोगको अवस्थाबारे जानकारी गराइएको थियो । त्यसैगरी साइबर अपराध सुरक्षाबारे बारे पनि जानकारी गराइएको थियो । त्यस क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले साइबर सम्बन्धी आपराधिक घटनाबाट धेरै पीडित बन्दै गएको भन्दै सजग हुनुपर्ने बताउनुभयो ।

समाज सुरक्षा नै प्रहरीको पहिलो दायित्व रहेको भन्दै उहाँले प्रहरीले आपराधिक कार्य नियन्त्रणका लागि प्रयत्न गरिरहने भन्दै उहाँले समुदाय र सरोकारवालाले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रम निर्वाहमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रममा सभापति एवं नेक्सस इन्टर नेशनल एकेडेमीका संस्थापक प्राचार्य आर बी कटुवालले सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरमा कार्यरत प्रहरी सहायक निरीक्षक तारा खत्रीलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा अभिभावक ,शिक्षक, शिक्षिका, विद्यार्थी, शुभचिन्तक, अभियान्ता, समाजसेवी लगायत उपस्थित थिए । नेक्ससले सामुदायिक उत्तरदायित्व अन्तर्गत अन्य संघ संस्था समेतको समन्वयमा हरेक वर्ष यस किसिमका कार्यक्रम आयोजना गर्ने गरेकाले निरन्तरता स्वरुप कार्यक्रम गरिएको प्राचार्य कटुवालले खुल्लापाटीलाई जानकारी दिनुभयो । कार्यक्रमपूर्व समुदायमा सजगताका लागि सचेतनामुलक प्रभातफेरि पनि गरिएको थियो ।