आज २५६४ औँ बुद्ध जयन्ती

काठमाडौँ । आज २५६४ औं बुद्ध जयन्ती । कोरोना भाइरसको महामारीका कारण कुनै औपचारिक कार्यक्रम नभएपनि बौद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी बुद्ध जयन्ती मनाउँदै छन् । शान्तिका अग्रदूत एवं एशियाका ताराका रुपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएको थियो ।

लुम्बिनीस्थित विहार, मोनाष्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा उक्त दिन विहान पूजापाठ गरी मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानीन राईले जानकारी दिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी अत्यन्त सीमित व्यक्तिमाझ गरी पूजा र प्रार्थना गरिन लागेको उनले जानकारी दिए ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । कठोर तपस्यापछि सिद्धार्थ गौतम नै गौतम बुद्धका नामले प्रसिद्ध भए ।

६ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो। यसपछि बुद्धका रुपमा विश्व प्रसिद्धि पाएका हुन् । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिएका थिए । जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ।

सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरे, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो ।

राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन्।

यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन्।