विद्यालय बसमा भएको आगजनीप्रति प्याब्सनद्धारा खेद प्रकट, दोषीमाथि कारबाही र क्षतिपूर्ति माग

काठमाडौँ – विद्यार्थी लिन जाने क्रममा विद्यालयको बस रोकी गरिएको आगजनीप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले घोर भत्सर्ना गर्दै कडा कारबाहीको माग गरेको छ । प्याब्सन केन्द्रीय महासचिव आरबी कटुवालले आज एक विज्ञप्ति जारी गरी विद्यार्थी बोक्ने सवारी साधनमाथि आक्रमण निकृष्ट र निन्दनीय कार्य भन्दै केन्द्रीय कार्यसमितिले उक्त कार्यको घोर भत्सर्ना गरेको जनाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ –‘विद्यालय र विद्यार्थी शान्ति क्षेत्र हो भन्ने मान्यता विपरीत विद्यालयको विद्यार्थी बोक्ने सवारीसाधनमाथिको तोडफोड, आगजनीजस्तो निकृष्ट र निन्दनीय कार्यको घोर भत्सर्ना गर्दै यस प्रकारका जघन्य कार्यमा सम्मिलितमाथि कडा कारबाही र उचित क्षतिपूर्तिका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’

आइतबार विहान चितवनको दद्राहनी पुलमा विद्यार्थी लिन जाने क्रममा स्मल हेभन स्कुल कल्याणपुरको ०६००१ क ००४५ नम्बरको स्कुल बसमा अज्ञात समूहले तोडफोड गरी आगजनी गरेको थियो ।