नीति तथा कार्यक्रममा शिक्षा, यस्तो छ सरकारको योजना

काठमाडौँ –सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम हालै सार्वजनिक गरेको छ । आफ्नो नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकता राखेको सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत् संघीय शिक्षा ऐन पारित गर्ने देखि उच्चस्तरिय शिक्षा आयोग गठन गर्ने विषयलाई समेटेको छ ।

यसैगरी, शिक्षा क्षेत्रलाई स्मार्ट तथा सूचना प्रविधिमैत्री बनाउन पनि सरकारले जोड दिएको छ । विद्यालय उमेर समूहका सबै बालबालिकाहरूलाई विद्यालयमा “ल्याउने, सिकाउने र टिकाउने” कार्यलाई प्रोत्साहनमूलक कार्यक्रमसहित अभियानका रूपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पढ्दै कमाउँदै कार्यक्रमलाई पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रमको रूपमा सञ्चालन गरिने, विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गरिने लगायतका विषय समेटेको छ ।

शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरू एकद्वार प्रणालीमार्फत वितरण गर्ने प्रबन्ध मिलाइने, विपन्न लक्षित छात्रवृत्तिलाई विस्तार गरिने र दिवा खाजा कार्यक्रमलाई क्रमशः विस्तार गर्दै लगिने सरकारको योजना छ ।

सङ्घीय शिक्षा ऐन संसद्को यसै अधिवेशनबाट पारित गरिने र शिक्षण पेसालाई मर्यादित र आकर्षक बनाउन विशेष प्याकेजको व्यवस्था गरिने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्चस्तरीय शिक्षा आयोग गठन गरिने, हरेक प्रदेशभित्रका विशिष्टीकृत विषय बाहेकका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूलाई एकै विश्वविद्यालयको छाताअन्तर्गत रहने गरी पुनःसंरचना गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।