अन्तर विद्यालय फुटबल प्रतियोगिता : नेक्सस सेमिफाइनलमा

काठमाण्डौँ – १९ औँ सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल ट्रफी अन्तर्गत आजको खेलमा जित हासिल गरी पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस स्कुल सेमिफाइनल प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनलमा नेक्ससले नेपाल प्रहरी विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

नेक्ससका कृष्ण आलेमगर र डेनियल सेनले गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै नेक्सस सेमिफाइनल प्रवेश गरेको हो । आजै भएको अर्को खेलमा सैनिक आवासीय महाविद्यालयले डिभाइन लाइट स्कुललाई ७–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै ल्याब स्कुलले सैनिक आवासीय विद्यालयको टिम बी लाई र नेपाल एपिएफले डन बस्कोलाई ४–० ले पराजित गरे ।

सेमिफाइनल खेल आगामी ८ गते हुनेछ भने प्रतियोगिता सैनिक आवासीयले ल्याब स्कुल र नेक्ससले एपिएफ स्कुलको सामना गर्नेछन । विभिन्न विद्यालयहरूका माझ सद्भाव र मित्रताको आधार तयार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उच्च लक्ष्यका साथ सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको यस प्रतियोगिताको १९औं संस्करणमा १२ विद्यालयहरूका १३ टिमहरू सम्मिलित छन् ।