थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमित २९ हजार ६४५ पुगे

काठमाडौँ – नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ७०७ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २९ हजार ६४५ पुगेको छ । थपिएका संक्रमितमध्ये १९२ जना महिला र ५१५ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि भएकामध्ये सक्रिय संक्रमित ११ हजार ५५५ जना छन् । त्यस्तै पछिल्लो २४ घन्टामा २६५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

हाल क्वारेन्टिनमा ११ हजार ७६८ जना छन् भने संस्थागत आइसोलेसनमा आठ हजार ८३ जना छन् । पछिल्लो एक दिनमा ११ हजार ८३२ पीसीआर परीक्षण भएको छ भने अहिलेसम्म कुल पाँच लाख ६६ हजार २२० परीक्षण भइसकेको छ ।

त्यस्तै, नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १२६ पुगेको छ ।