तीन जिल्लाका सबै नागरिकलाई कोरोना खोप लगाइयो

काठमाडौँ- तीन जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइएको छ । मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसंख्यामा पूर्णमात्रामा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशत नागरिकमा कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाइएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन् । मुलुकभरि करिब १८ प्रतिशत जनसंख्याले पूर्णमात्राको खोप लगाएका छन् ।

सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसंख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ ।