काठमाडौँमा अझै १८ हजार बढी निरक्षर

काठमाडौँ- सङ्घीय मुलुकको राजधानी काठमाडौँलाई साक्षर जिल्ला घोषणा गरिसकिएको छ । यद्यपि साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५ औँ जिल्लामा परेको छ । तर काठमाडौँका १० वटा नगरपालिकामा स्थायी बासिन्दा रहेका १८ हजार ५३ नागरिक अझै निरक्षर रहेको पाइएको छ ।

काठमाडौँका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेलका अनुसार देशभरबाट काठमाडौँमा आएर बस्ने तथा काठमाडौँका स्थायी र अस्थायी बसोबास गर्ने बासिन्दालाई आँकडामा समावेश गरेर हालै साक्षर जिल्ला घोषणा गरिए पनि अझै काठमाडौँमा निरक्षर नागरिक रहेको खुलेको हो । काठमाडौँका विभिन्न पालिकास्तरमा साक्षर घोषणा भइसकेपछि समग्र जिल्लाको ९६ दशमलव ८८ प्रतिशत साक्षरता भएको मानेर काठमाडौँ जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको थियो ।

प्रदेश नं २ का आठ जिल्लासहित अझै २२ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । साक्षर नेपाल अभियानले १५ वर्ष र ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएका क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने मापदण्ड बनाएको छ । नेपालमा २०७२ असार २ गते ९७ दशमलव ६८ प्रतिशत साक्षरतासहित सिन्धुपाल्चोक पहिलो साक्षर जिल्ला घोषणा भएको थियो ।