कोरोना संक्रमण : विभिन्न १४ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालका विभिन्न जिल्लामा उग्र रुपमा फैलिँदै गएपछि हालसम्म विभिन्न १४ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । लकडाउन खुकुलो भएसँगै मानिसहरुको बढ्दो चहलपहलका कारण संक्रमण फैलिरहेको भन्दै विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका हुन ।

सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि १४ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

१४ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।

जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।