अनलाइन कक्षा बन्द गर्न निर्देशन

कास्की । नयाँ शैक्षिक सत्र सुरु भएपनि कोरोना भाइरसका कारण शिक्षालय जान नपाएका विद्यार्थीलाई लक्षित गरी निजी विद्यालयले अनलाइनक कक्षा सञ्चालन गरेर विद्यार्थीलाई सिकाईको पहुँच पु-याउन थालेपनि पोखरा महानगरपालिकाले भने अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ ।

महानगरले आज एक विज्ञप्ति जारी गर्दै सबैतिर इन्टरनेटको पहुँच नभएको र यसले विद्यार्थी तथा अभिभावक मानसिक दबाबमा पर्ने भन्दै बन्द गर्न निर्देशन दिएको हो । महानगरले अनुमति विना अनलाइन कक्षा सञ्चालन नगर्न पनि निर्देशन दिएको छ ।

महानगरले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ –पोखरा महानगरभित्रका संस्थागत विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको र त्यसरी अनलाइन कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार विना नै अनलाइन कक्षा सञ्चालन गर्दा थप विकृति निम्तिने उल्लेख गरिएको छ ।

सरोकारवालाको आपत्ति

यसैबीच सरोकारवालाहरुले महानगरले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै ४८ घण्टाभित्र निर्णय फिर्ता लिन चेतावनी दिएको छ । बृहद् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले एक विज्ञप्ति जारी गरी पढ्न र सिक्न पाउने संविधानप्रदत्त मौलिक हकलाई लत्याएर गरिएको निर्देशन संविधान र कानूनसम्मत नभएको भन्दै ४८ घण्टाभित्र फिर्ता नलिए कानुनी उपचार थाल्ने चेतावनी दिइएको छ । शिक्षण सिकाईमा सूचना र प्रविधिको पहुँच बढाउने राज्यको नीति अघि बढाउनुपर्नेमा यस्तो निर्देशनले ढुंगे युगतर्फ फर्किने विज्ञप्तिमा उल्लेख छ ।