रोयल च्यालेन्जर्स बैंग्लोरको तेस्रो जित

काठमाडौँ – रोयल च्यालेन्जर्स बैंगलोरले ईण्डियन प्रिमियर लिग आइपिएलमा राजस्थान रोयल्सलाई आठ विकेटले हराउदै तेस्रो जित निकालेको छ। शनिबार आबुदाविमा भएको खेलमा पहिले ब्याटिङ गर्दै राजस्थान रोयल्सले २० ओभरमा छ विकेट गुमाउँदै १५४ रन बनाएको थियो।

राजस्थानको लागि महिपाल लोमरोरले ४७ र राहुल टेवाटियाले अविजित २४ रन जोडदा अन्य खेलाडी क्रिजमा टिक्न सकेनन। बलिङमा युज्भेन्द्र चाहालले तीन र इसुरा उडानुले दुई विकेट झारे।

जवाफमा १५५ रनको विजय लक्ष्य रोयल च्यालेन्जर्स बैंगलोरले १९ दशमलव एक ओभरमा मात्र दुई विकेट गुमाउँदै पुरा गर्यो। ओपनर आरोन फिन्च आठ रनमा आउट भएपनि देवदत्त पाडिकल र विराट कोहलीले दोस्रो विकेटकोलागि ९९ रनको साझेदारी गर्दै जितको आधार खडा गरे।

यो क्रमामा दुवैले अर्धशतक प्रहार गरे भने देवदत्त पाडिकल ४५ बलमा ६३ रन जोडी आउट भए। निरन्तरको खराब प्रदर्शनपछि लयमा फर्किएका कप्तान कोहलीले ५३ बलको सामना गरी सात चौका र दुई छक्का सहित अविजित ७२ रन बनाउदै टिमलाई आठ विकेटको सहज जित दिलाए।

राजस्थानका खेलाडीहरू ब्याटिङमा त चुके नै बलरहरूले पनि फितलो प्रदर्शन गरे। बैंगलोरको यो तेस्रो जित हो र छ अंक बनाएको छ पराजित राजस्थानको भने दोस्रो हार हो।