नेक्ससले पायो ब्रिटिश काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड

काठमाडौँ – काठमाडौँको पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल ऐकेडेमीले ब्रिटिश काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ। कनेक्टिङ क्लासरुम परियोजना अन्तर्गत ब्रिटिस काउन्सिल नेपालले हरेक वर्ष प्रदान गर्ने उक्त अवार्ड यस वर्ष नेक्ससले प्राप्त गरेको हो ।

शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत विकास केन्द्र समेतको संयोजनमा ब्रिटिश काउन्सिलले भर्चुअल रुपमा कार्यक्रम गरी अवार्ड प्रदान गरेको हो । विद्यालयले अवार्ड प्राप्त गर्नु समग्र अभिभावक, शिक्षक शिक्षिका तथा विद्यार्थीको मेहनतको उपज भएको विद्यालयका संस्थापक प्राचार्य आरबी कटवालले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

‘नेक्सस् इन्टरनेशनल स्कुललाई अन्तराष्ट्रिय स्तरको शैक्षिक गन्तव्य बनाउने हाम्रो दीर्घकालिन लक्ष्य नै हो । यसै अनुरुप विभिन्न किसिमका शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आएका थियौँ । अवको ज्ञान वैश्विक बन्नु पर्दछ भन्ने मान्यता हामीले लिएका छौँ यो अवार्डले त्यसैलाई परिलक्षित गरेको छ ।’ उहाँले बताउनुभयो ।

‘विद्यालयले यसअघि विभिन्न देशका विद्यार्थीसँग सिकाईका लागि संयुक्त परियोजना गर्दै आइरहेको थियो । यसै क्रममा अवार्ड प्राप्त हुनु विद्यालयलाई थप जिम्मेवार बनाउनु हो । यसले हाम्रा विद्यार्थी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने गरी अघि बढन हामीलाई प्रेरित गरेको छ ’ कटवालले स्पष्ट पार्नुभयो ।

अवार्ड प्राप्त गर्ने स्कुलहरूलाई तीन वर्षका लागि उनीहरूका सबै आधिकारिक स्टेशनरी/लेखन सामग्री र प्रवद्र्धन सामग्रीहरूमा आफ्ना स्कुलको लोगोसँगै प्रतिष्ठित इन्टरनेशनल स्कुल काइट मार्क प्रयोग गर्न दिइनेछ । कनेक्टिङ क्लासरुम अन्तर्गत नेक्ससका विद्यार्थीहरुले पाकिस्तान, बेलायत, इटाली, बंगलादेश, अफगानिस्तानका र भारतका विद्यार्थीसँग सिकाई आदान प्रदान गरेका थिए ।

पार्टनर स्कुलसँग संस्कार, संस्कृति, परम्परा, भाषा प्रविधि र सिकाईका नयाँ तरिकाबारे संयुक्त रुपमा कार्यक्रम गरिएको विद्यालयका ब्रिटिश काउन्सिल प्रोग्राम कोअर्डिनेटर योेगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले नौवटा परियोजनामा काम गरेको थियो।‘ सात ओटा अनिवार्य गर्नुपर्ने परियोजना भएपनि हामीले थप २ ओटा परियोजनामा काम ग-यौँ ।यसले पनि अवार्ड प्राप्त गर्न सहज बनाएको हुनुपर्छ ।’ उहाँले बताउनुभयो ।

अवार्डले विद्यालयको गौरव बढाएको विद्यालयकी प्राइमरी कोअर्डिनेटर एवं प्रोग्राम लिडर उर्मिला पौडेलले बताउनुभयो । विद्यालयभित्र स्थानीय पाठ्यक्रममा आधारित रहेर हाकुपटासीको कार्य गरेको थियो । संयुक्त राष्ट्रसंघको दीगो विकासका सिद्धान्तमा आधारित रही नौ वटा प्रोजेक्टहरु मार्फत आफ्ना स्थानीय स्तरका उपलब्ध नवीनतम धारणाहरुलाई विद्यार्थीहरुका माध्यमबाट अन्य देशका विद्यार्थीहरुसम्म पु-याउने तथा ती देशमा रहेका त्यस्तै विषयहरुलाई आफ्ना विद्यार्थीहरुसम्म ल्याउन कनेक्टिङ क्लासरुममार्फत ज्ञान बाँडने तथा लिने गरिन्छ ।

के हो इन्टरनेशनल स्कुल अवार्ड ?

यो इन्टरनेशनल स्कुल अवार्डमा सहभागिता जनाउने स्कुलहरूलाई प्रदान गरिने वार्षिक अवार्ड हो । हरेक वर्ष यस अवार्डमा सहभागी हुन इच्छुक स्कुलहरूबाट आवेदन आह्वान गरी प्राप्त आवेदनका आधारमा स्कुल छनौट गरिन्छ । ती स्कुलहरूको अन्तर्राष्ट्रिय कार्यको अभिलेख राख्न एवं मूल्यांकन गर्न र यसलाई उनीहरूको पाठ्यक्रममा समावेश गर्न ब्रिटिश काउन्सिलले इन्टरनेशनल स्कुल अवार्डलाई विद्यालयहरूका लागि एक प्रमाणीकरण ढाँचाका रूपमा प्रस्ताव गर्छ।

इन्टरनेशनल स्कुल अवार्डले एक मापदण्डका रूपमा कार्य गर्छ । यसअन्तर्गत स्कुलहरूले बालबालिकामा विश्व नागरिक भावनाको विकास गराउनुपर्ने तथा शिक्षण र सिकाइलाई समृद्ध बनाउनुपर्ने सर्त राखिएको हुन्छ ।

विद्यालय विकासका लागि इन्टरनेशनल स्कुल अवार्डको पहुँच समग्र रूपमा हुने र पाठ्यक्रममा आधारित प्रोजेक्ट कार्य तरिका अनुकरण गरी विद्यार्थीमाझ यसको प्रयोग गर्न शिक्षकहरूलाई प्रोत्साहित गर्ने ब्रिटिश काउन्सिलको दाबी छ । यसले नेतृत्वलाई समूह निर्माण, नवीन प्रस्तुति र प्रोजेक्ट व्यवस्थापनमा प्रोत्साहित गर्छ । इन्टरनेशनल स्कुल अवार्डमा सामग्री छनौटको स्वतन्त्रता हुने र विद्यालयलाई आफ्नो पाठ्यक्रममै यसलाई सामेल गर्न प्रोत्साहित गरिने काउन्सिलको भनाइ छ।

इन्टरनेशनल स्कुल अवार्डले सूचना तथा सञ्चार प्रविधि र शिक्षण विधिमा सुरक्षित र व्यवस्थित तरिकाले नयाँ सीपको अभ्यास गर्ने अवसर उपलब्ध गराउँछ । ब्रिफिङ, कार्याशाला, अनलाइन समुदाय र अवार्ड समारोहमा हुने सहभागिताले देशभरका स्कुललाई एकसाथ उभ्याउने र यसले विचारहरूको वृहत आदानप्रदानलाई प्रोत्साहित गर्ने काउन्सिलको दाबी छ ।

अवार्ड प्रदान गर्ने स्कुललाई कसरी मूल्यांकन गरिन्छ ?

ब्रिटिश काउन्सिल, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरूको एउटा समूह बनाइएको छ । सहभागी स्कुलहरूले पेश गरेका अभिलेख वा प्रमाणका विवरण मूल्यांकन गरिन्छ । अनि कार्यको सत्यता र बालबालिकाहरूमा सिकाइ उपलब्धि हेर्न विद्यालय भ्रमण गरिन्छ । पेश गरिएका प्रमाण र विद्यालय भ्रमणका समयमा देखिएका उपलब्धिहरूको आधारमा ती विद्यालयहरूलाई अवार्ड प्रदान गरिन्छ ।