राष्ट्रपतिबाट बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा उहाँले बुद्धजयन्तीको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

बौद्धदर्शनका प्रवर्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरसको महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।