चिम्पान्जीको रुघाबाट कोरोनाको खोप, बेलायतलाई हालसम्मकै ठूलो सफलता

काठमाडौँ – कोरोना भाइरसविरूद्धको खोपमा बेलायतलाई सफलता मिलेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षणमा उक्त खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको बीबीसीले जनाएको छ ।

पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियो । खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको रिपोर्टमा उल्लेख छ। वैज्ञानिकहरूले यो नतिजालाई ‘एकदमै उत्साहजनक’ भनेका छन्।

वैज्ञानिकहरूले यो खोप बनाउन यस्तो भाइरस प्रयोग गरेका छन्, जसले चिम्पान्जीहरूमा रूघा लाग्छ। उनीहरूले त्यो भाइरसलाई प्रयोगशालामा नयाँ ढंगले विकास गरेर कोरोना भाइरससँग मिल्दोजुल्दो बनाउँदै मान्छेलाई असर नगर्ने किसिमको बनाएका छन् ।

यो खोप लगाएपछि मान्छेको शरीरमा जुन एन्टिबडी अर्थात् मानव शरीरको रोग प्रतिरोधक प्रणालीले विकास गर्ने प्रोटिनका कणहरू विकास हुने र, त्यसले कोरोना भाइरसलाई परास्त गर्न सक्ने दाबी गरिएको छ।

परीक्षण रिपोर्टअनुसार खोप लगाएका व्यक्तिमध्ये ९० प्रतिशतमा एउटा डोज लगाउनेबित्तिकै एन्टिबडी विकास भएको थियो। जम्मा १० जनालाई मात्र दुईवटा डोज लगाइएको थियो। उनीहरूमा पनि एन्डिबडी विकास भएको रिपोर्टमा छ।

अब बेलायतमा हुने अर्को चरणको परीक्षणमा १० हजारभन्दा बढी व्यक्तिलाई खोप दिइनेछ।बृहत परीक्षणमा पनि सफल भए सन् २०१९ को डिसेम्बर ३१ देखि मानिसहरूलाई आक्रान्त बनाउँदै आएको कोरोना भाइरसकाविरूद्ध लड्न खोपका माध्यमबाट पनि सकिने वैज्ञानिकहरूले बताएका छन् ।

यो खोपलाई लिएर यसका निर्माताहरू मात्र होइन, बेलायत र अमेरिकासमेत एकदमै आशावादी भएका छन्। बेलायतले अनुसन्धानको अन्तिम नतिजा आउनुअगावै १० करोड डोज खोप अर्डर गरिसकेको छ। अमेरिकाले पनि अनुसन्धानलाई तीव्रता दिन एक अर्ब २० करोड डलर उपलब्ध गराउने निर्णय गरेको बताइएको छ।

यसलाई कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी लगानीका रूपमासमेत लिइएको छ। अक्सफोर्ड विश्वविद्यालयले बेलायती–स्वीडिस औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकासँग मिलेर खोप निर्माण गरेको हो।