नेपालमा पहिलोपटक कोरोनाका कारण एकको मृत्यु, २८१ संक्रमित

काठमाडौँ – नेपालमा पहिलोपटक कोरोनाका कारण एकको मृत्यु भएको छ । बिहीबार राति धुलिखेल अस्पततालमा मृत्यु भएकी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत २९ वर्षीय महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका हुन । सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलालाई सुत्केरी गराउन बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । बैशाख २४ गते नर्मल डेरीभरी पछि स्वास्थ्य अवस्था सामान्य भएकाले उनलाई अस्पतालले बैशाख २५ गते डिस्चार्ज गरेको थियो ।

डिस्चार्ज भएको ८ औं दिनमा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय अस्पतालमा लगिएकोथियो ।

सोही क्रममा कोरोनाको लक्षणहरु देखिएपछि उनलाई आकस्मिक रुपमा बिहीबार धुलिखेल अस्पताल लगिएको थियो ।

सुत्केरीको मृत्युभएपछि धुलिखेल अस्पताललाई सील गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सकलाई पनि आइसोलेसनमा राखेर कोरोना परीक्षण थालिएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ ।

उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।