कोरोनाका कारण अमेरीकामा १५ नेपालीको मृत्यु

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अमेरिकामा मात्र १५ नेपालीको मृत्यु भएको छ म‌गलबार अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थीको मृत्युसँगै कोरोनाबाट मृत्युहुने अमेरिकाबासी नेपालीको संख्या १५ पुगेको हो।

बिरामी परेर गत चैत २६ अर्थात अप्रिल ८ तारिखमा अस्पतालमा भर्ना भएका पन्थीको म‌गलबार मृत्यु भएको थियो।अमेरिका बस्ने नेपालीहरु मध्ये न्यूयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना रहेका छन्।

यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मङ्गलबार अन्तिम संस्कार गर्न सफल भएको अमेरिका बासी नेपालीहरुले बताएका छन्।

अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पुर्‍याउने काममा मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले सहयोग गर्दै आएका छन्।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको जानकारी दिए।

एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ। तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएको छन् ।

सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको एनआरएनएको तथ्याङ्क छ।