वैकल्पिक शिक्षण तयारीमा निजी विद्यालय

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले रेडियो, टिभी र अनलाइन कुन माध्यमबाट पढाइ थाल्न सकिन्छ भन्नेबारे छलफल थालेको छ । प्याब्सनले जिल्ला अध्यक्षहरुसँग यसबारे छलफल गर्दै कुन माध्यमबाट पढाइ गर्ने भन्नेबारे भर्चुअल बैठक गरी राय लिएको हो ।

छलफलमा जिल्लाका अध्यक्षहरु सहभागी थिए । प्याब्सनले रेडियोको पहुँच पुग्ने स्थानमा रेडियो, टेलिभिजनको पहुँच पुग्ने स्थानमा टेलिभिजन र अनलाईन उपलब्ध अभिभावकमा अनलाइनबाट पढाउने भएको छ । ‘वैकल्पिक शिक्षण सिकाईका लागि छलफलमैँ छौँ । ’ प्याब्सन केन्द्रीय अध्यक्ष टीकाराम पुरीले खुल्लापाटीलाई जानकारी दिए । उनले भने –‘ एक महिनासम्म निःशुल्क पठनपाठन गराउँछौँ । त्यसपछि के अवस्था हुन्छ हेरेर निर्णय लिन्छौँ ।’

वैकल्पिक शिक्षण सिकाइका लागि प्याब्सनले केन्द्रीय उपाध्यक्ष गोपाल आचार्यको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा उपमहासचिव द्धय आरबी कट्वाल र किशोर गौतम सदस्य छन् ।

टेलिभिजन छानिँदै

प्याब्सनले दैनिक ५ घण्टा शिक्षण गराउने गरी केवल र स्याटलाइटबाट प्रसारण हुने टेलिभिजनबाट शिक्षण गराउने भएको छ । यसका लागि टेलिभिजनहरुको छनौट गर्ने काम समितिलाई दिइएको छ । टेलिभिजनमा प्रसारणवापत्को शुल्क प्याब्सन केन्द्रले व्यहोर्ने भएको छ ।

रेडियोको जिम्मा प्रदेशलाई

प्याब्सनले सम्बन्धित प्रदेश कमिटीलाई कुन रेडियो छान्ने आफैँ निर्णय गर्न निर्देश गरेको छ । साथै रेडियोमा शिक्षण सिकाई वापत्को लाग्ने शुल्क पनि प्रदेश कमिटिले नै व्यहोर्नेछ ।

अनलाइनको जिम्मा विद्यालयलाई

प्याब्सनले अनलाइनबाट हुने शिक्षण सिकाईको जिम्मा सम्बन्धित विद्यालयलाई नै दिएको छ ।

बैठकमा जिल्ला अध्यक्षहरुलाई वैकल्पिक शिक्षण सिकाईका लागि सर्भे गरी जानकारी दिन आग्रह गरिएको अध्यक्ष पुरीले स्पष्ट पारे । सरकारले असार १ गतेदेखि वैकल्पिक शिक्षण विधिबाट पठनपाठन गर्ने गरी ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका–२०७७ ’ जारी गरेको छ ।