पूर्वीय सभ्यता – आजको आवश्यकता

 -श्रीराम पोख्रेल

वर्तमान परिवेशमा खासगरी नेपालको सन्दर्भमा भन्नुपर्दा भए नभएका वाद जन्माएर त्यसैमा जाति-पाती धर्मलाई जोडेर सामाजिक सद्भाव विथोल्ने काम दिनानुदिन बढ्दो छ। यसबाट कसलाई के फाइदा हुन्छ, जसले यस्ता दुस्प्रचारहरु गर्दै हिँड्छ त्यसैलाई थाहा होला। परन्तु, सवै धर्म दर्शनको बारेमा त मलाई त्यति धेरै ज्ञान छैन तर हिन्दू धर्मदर्शनका अनुसार सम्पूर्ण प्राणी जगतका परंपिता, यो ब्रह्माण्डका सञ्चालक सवैका एउटै हुन्। रुप र आकारमा केहि भिन्नता भएपनि हामी सवै मनुष्य-शरीरभित्र रहेको जीवात्मा उनै परंपरमात्मा परमेश्वरको सुक्ष्म अंश हो।

एक वेदलाई ४ वेदमा र ४ वेदलाई १८ पुराणमा उल्थागरी मानव जगतलाई अमूल्य योगदान दिने व्यक्ति वेदव्यास पनि पराशर ऋषि र वर्तमानमा वहुचर्चित शब्द “जनजाती” कै छोरी सत्यवतीका पुत्र हुन्। जसलाई हिन्दू धर्म दर्शनका मुख्य व्याख्याता नै मानिन्छ। यिनैले व्याख्या गरेको स्कन्दपुराण केदारखण्ड अर्थात् नेपाली जन-जिब्रोमा सु-प्रसिद्ध श्रीसत्यनारायण व्रतकथाको अध्याय १: श्लोक १४ मा बताइए अनुसार निम्न ४ गुण(लक्षणहरु) भएका मनुष्यहरु ईश्वरै समान हुन् भनिएको छ।

  • धर्मको उपदेश दिने ।
  • जीँवहरुमा दया गर्ने ।
  • छल प्रपञ्च नगर्ने ।
  • कसैसित बिरोध नगर्ने ।

यसमा यो जात, वर्ण, धर्म, लिङ्ग स्थान केहि तोकिएको छैन। जसमा यी ४वटै लक्षण मिलेको छ, त्यो मानुष्य भैकन पनि १००% भगवान समान, ३वटा लक्षण मिले ७५%, २वटा मिले ५०%, र १ मिले २५% हुने भयो। हुन पनि सवै जात धर्म वर्ण लिङ्ग र ठाउँका मानिसहरु राम्रा पनि हुने गर्दछन्, नराम्रा पनि हुने गरेको पाईन्छ। एउटै कुलका उग्रसेन राजा कति उदार थिए भने तीनैका छोरा कंश कति क्रुर र निकृष्ट थिए। सहि कुरो पत्ता लगाउन सहि ज्ञान, गुण, बिधि र सीप पनि सहि नै हुनुपर्ने हुन्छ।

वर्तमानमा वुझोस-नवुझोस त्यसको दोष होसकि-नहोस् वाहुनवाद भनेको छ, हिन्दु धर्म र यसमा आस्था राख्ने अनुयायीहरुलाई तथानाम गाली गरेको छ, मिलेर वसेको समाजमा आगो सल्काउँदै घर-घरमा झगडाको विउ रोप्ने कार्य बढ्दो छ।

अव भनौ हिन्दू धर्म दर्शनका व्यख्याता मुनि वेदव्यास सत्यवतीका (जनजाती) पुत्रले माथि वताए अनुसार व्याख्या गरेका छन्, जसमा सम्पूर्ण प्राणी जगत् नै अटाउँछ। हाम्रा वेद शास्त्रले “सर्वे भवन्तु सुखिन:………………माकस्चित्दु: खभाग्भवेत्” भनेर सम्पूर्ण जगत् सुखि रहोस, सवै निरोगी बनून्, सवैको कल्याण हवस्, भनी वताएका छन्। शास्त्र पढ्दा विश्वकर्मा बाबा पनि विष्णु भगवानकै अंश भएको बुझिन्छ।

मर्यादापुरुषोत्तम भगवान श्रीरामले पनि निषादलाई मित्र बनाउनु भएको, भक्तिसबरीको जुठो बयर खानु भएको, श्रीकृष्ण भगवानले पनि सवै ग्वालासाथीहरुसंग संगसंगै खाए वसेको पाइन्छ। महाभारतमा दासीपुत्र बिदुरको स्थान कति पवित्र र उच्च मानिन्छ। धार्मिक ग्रन्थहरु हेर्यो भने रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, वालागुरु षडानन्द, राजा जनक, राजा दशरथ, माता सीता, सत्यवादी राजा हरिश्चन्द्रको प्रसङ्ग कति गर्विलो पाइन्छ।

यस्ता ग्रन्थहरुलाई गहिरोसंग बुझेका थापा थरका योगी नरहरीनाथ, राई थरका स्वामी प्रपन्नाचार्य, गुरुङ थरका डा जगमान गुरुङ, प्रणय पासा, दार्शनिक एवं संस्कृतिविद् प्रा.सुमन थीङ लामा जस्ता विद्वानहरुले पनि हाम्रा धर्म ग्रन्थहरु समाजोपयोगी नै भएको ठहराउनु भयो।

हाम्रो धर्मग्रन्थहरु पढेका पाश्चात्य विद्वानहरु जर्मनका शोपेन हावर (१७७८-१८६०) भन्छन्- “उपनिषदहरु मेरो जीवनको सहारा भएका छन् र मृत्युको पनि सहारा हुनेछन्।“ अमेरिकी महान दार्शनिक थोरोले ‘आफ्नो ज्ञानको मूलश्रोत वेद नै भएको’ वताएका छन्। फ्रान्सका भोल्टेयर(१६९४-१७७४)भन्छन्-“ वेद पश्चिमाहरुलाई पूर्वको सवभन्दा वहुमूल्य उपहार हो, जसले पश्चिम सदाकाल पूर्वको ऋणी भएको छ” भनेका छन्।

त्यसैगरी एटम बमका पिता भनेर चिनिने भौतिकशास्त्री जुलियस ओपनहाइमर भन्छन्-“आधुनिक भौतिक शास्त्रमा पाइने सवैकुरा प्राचीन हिन्दू ज्ञानको परिष्कार हो।“  त्यसैगरी १९४८मा नोवेल पुरस्कारबाट पुरस्कृत टी. एस. इलियट भन्छन्- “Eastern philosopher’s subtleties make most of the greatest European philosophers look schoolboys.”

यसरी अन्तर्राष्ट्रिय दार्शनिकहरुले समेत हाम्रा शास्त्रहरु पढेर पूर्वीय दर्शनका सामुन्ने हाम्रो आधुनिक पाश्चात्य ज्ञान त केटौले विद्या पो रहेछ भनेर सार्वजनिक गरिसक्दा पनि यसको राम्रो अध्यायन नै नगरी धर्मशास्त्रको सल्लाह समेत लिन नरुचाउने परायाका गोटी बनेका २-४ जना बिकाउ नेताहरु र पाश्चात्य लगानीमा संञ्चालित केहि संघ-संस्थाहरुको कुटिल गतिबिधिबाट प्रभावित भएर हाम्रो धार्मिक तथा सामाजिक सहिस्णुतालाई खलल पुराउनुका साथै एकता, बीरता र अखण्डताको प्रतिक, सिंगो देशकै पहिचान हाम्रो राष्ट्रिय झण्डा फेर्न समेत उक्साउने दुष्प्रयास हुँदै आएका छन्।

यो पूर्वीय दर्शनबाट प्रभावित शिक्षा, संस्कारले पछाडि पार्यो भनेर “जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी” भनेर जन्मदिने आमा र जन्मेको माटोलाई मायागर्न सिकाउने संस्कृतका किताव, हितोपदेश, नैतिक शिक्षा जस्ता मानव जीवनकालागि अति उपयोगी पुस्तकहरु च्यात्ने, जलाउने, थुक्ने, मन्दिरहरु भत्काइदिने, किरियापुत्रीहरुलाई लछार-पछार गर्ने, फरक विचारका मान्छेहरुलाई दाउरो चिरे जस्तै चिरेर नुन-चुक लगाइ तइपाइ-तड्पाई मार्ने जस्ता घृणीत कार्यहरु गरेर हाम्रो समाजले छलाङ मार्छ भन्ने जमातले सामाजिक सद्भाव भत्काउँदै र बिथोल्दै मार्ग विहीन गराइ वीच बाटोमै छाडिदियो।

अव  अगाडि जाउँ भने कहाँ, के-कसरी जाने टुङ्गो छैन, पछाडि फकौ भने जीवनका धेरै अवसरहरु गुमिसके। यसरी हाम्रो सदियौँ देखि मिलि वसेको समाजलाई लथालिङ्ग अवस्थामा पुर्याएर छाडेको कुरा सवैसामु जगजाहेर छ।

मानिस- मानिस वीचको अन्तर्भेद हटाउनु पर्यो, यस्ता अमानवीय कार्यहरु हुन दिनु भएन भन्ने नारा दिएर अनेकौं संघ-संस्थाहरु खोलिए तर जति चर्को-चर्को स्वरमाबोल्यो त्यति डलर झार्न पल्केकाहरुबाट “वसुधैव कुटुम्वकम्” भनेर सम्पूर्ण प्राणी जगतका प्रति मित्रभाव दर्शाउन सिकाउने, ”मातृदेवो भव;”,  “पितृदेवो भव:”,  “अतिथिदेवो भव:” भनी जीवनभर निस्वार्थ सेवा, सल्लाह र संरक्षणका प्रतिमूर्ति पिता-माता र अतिथिको आदर-सत्कार गर्न सिकाउने, ”अहिंसा परमोधर्म:” भनी सम्पूर्ण प्राणी प्रति मायाँ र सद्भाव दर्शाउन सिकाउने, ”असतो मा सद् गमय” भनी खराब बाटो छाडेर राम्रो बाटो लाग्न प्रेरीत गर्ने,’ तमसो मा ज्योतिर्गमय” भनी अज्ञान र अन्धकारदेखि उज्यालो ज्ञानतर्फ लाग्न प्रेरीत गर्ने”, “परोपकाराय सतां विभूतय:” भनी परोपकार गर्न सिकाउने, “सत्यं वद धर्मं चर” भनी सत्य बोल्न र धर्ममा चल्न प्रोत्साहन गर्ने,  “सं गच्छध्वं सं वदध्वं….सह नौ भुनक्तु” भनी साथ-साथै हिँड्ने बोल्ने, रक्षित हुने खाने बल प्राप्त गर्ने, “सर्व जन हीताय, सर्व जन  सुखाय” भनी अरुको हित त सुखलाई महत्व दिएर कर्म गर्न सिकाउने हाम्रो धर्म, शिक्षा, संस्कार, संस्कृति र सभ्यता माथि निरन्तर र्निर्ममता पूर्वक प्रहार हुँदै आएको कुरा सवैसामु घाम जत्तिकै छर्लङ्ग छ।

के यसरी समग्र मानवजातिकै लागि उपयोगि हुने हाम्रो पुस्तौं देखि चलि आएको पूर्विय दर्शनलाई अलग गरेर अहिलेको द्रुत गतिमा दौडिरहेको विश्वमानव सभ्यतासंगै एकसाथ अगाडि बढ्न सकिएला? कदापि सकिँदैन! किन कि आत्मा विनाको शरीर, इन्जिन विनाको गाडी, र ज्ञान विनाको विज्ञान अधुरो र अपूरो नै मानिन्छ।

तसर्थ यस्ता “फुट र गुट”, “वाद र सिद्धान्तलाई’ छिचोल्दै संसारकै प्रतिष्ठित देश, संस्था र वैज्ञानिकहरुले समेत रुचि देखाउँदै आएको, खगोल-भूगोल, यसलोक-परलोक, जन्म-मृत्यु, दृष्य-अदृष्य, आत्मा-परात्मा, जीवात्माका साथै दुनियाकै खोज-अनुसन्धान एवं मानव जीवनको अन्तिम लक्षको रुपमा रहँदै आएको मोक्ष र परमात्माको बारेमा समेत बताउन सामर्थ्य राख्ने पूर्वीय दर्शन/सभ्यतालाई उपेक्षा गरेमा यो दिव्य मनुष्य चोलाका सहायक उपलब्धीहरु पुरा भए पनि मुख्य उपलब्धी अधुरो नै हुने भएकाले यस सुन्दर धर्तीमा सर्वश्रैष्ठ प्राणी मनुष्य भएर जन्मनुलाई सौभाग्यशाली बनाउन हाम्रो पूर्वीय दर्शन/सभ्यताको अपरिहार्य आवश्यकता देखिन्छ ।

मनुष्यजाति हो सवको, अंशहौं परमातमाको।

गर्नुछ उपकार सवको, जानुछ  मार्ग  मोक्षको।।

(लेखक गोर्खा क्याम्प सिंगापुरमा कार्यरत पण्डित हुन् ।)