४४८ जनामा एकैदिन कोरोना संक्रमण, संक्रमित ५ हजार नाघे

काठमाडौँ – नेपालमा आज अहिलेसम्मकै बढी संख्यामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । आज थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८७७ पुगेको छ । जसमध्ये अहिलेसम्म १६ जनाको मृत्यु भएको छ । कुल ७२ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।