टेलिभिजनबाट पढाइ : यस्तो छ प्याब्सनको व्यवस्था

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले टेलिभिजन माध्यमबाट अध्यापन गराउन चारओटा टेलिभिजन छनौट गरी सम्झौता गरेको छ । प्याब्सनले असार १ गतेदेखि पढाइ थाल्न जनता टेलिभिजन, टिभी टुडे, योहो टेलिभिजन र टिभी टुडेकै अर्को च्यानल टिभी वानबाट दूरशिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

टेलिभिजनबाट पढाउन प्याब्सनले आज टिभी टुडेसँग सम्झौता गरेको छ । यसअघि हिजो जनता टेलिभिजनसँग सम्झौता गरेको प्याब्सनले भोलि योहो टेलिभिजनसँग सम्झौता हुने जनाएको छ ।

प्याब्सनले वैकल्पिक शिक्षणका लागि केन्द्रीय उपाध्यक्ष गोपाल आचार्यको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिमा केन्द्रीय उपमहासचिवद्धय आरबी कट्वाल र किशोर गौतम सदस्य छन् । सोही समितिले आज टिभी टुडेसँग सम्झौता गरेको हो । ‘असार १ गतेदेखि भिन्न भिन्न तहको अध्यापन गराउने गरी फरक फरक टेलिभिजन छनौट गरेका छौँ ।’ समिति संयोजक गोपाल आचार्यले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

तहअनुसार पढाइ, यस्तो छ समय 

प्याब्सनले हरेक कक्षाका विद्यार्थीका लागि फरक फरक टेलिभिजन छनौट गरेको छ । जनता टेलिभिजनबाट कक्षा ७, ८, ९ र १० कक्षाका विद्यार्थीलाई शिक्षण गराइनेछ । जनता टेलिभिजनले विहान १० बजेर ५ मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्म प्रसारण गर्नेछ ।

टिभी टुडेबाट कक्षा २ देखि ६ कक्षा सम्मका विद्यार्थीलाई शिक्षण गराइने भएको छ । टिभी टुडेसँग दुई बजेर ५५ मिनेटदेखि ५ बजेसम्म शिक्षण गराइने गरी सम्झौता गरिएको समिति सदस्य एवं प्याब्सन उपमहासचिव आरबी कट्वालले खुल्लापाटीलाई जानकारी दिए । कक्षा नर्सरी, एलकेजी, युकेजी र कक्षा एकमा शिक्षण सिकाईका लागि भने योहो टेलिभिजनसँग सम्झौता हुने भएको छ ।

‘यो हो टिभीसँग विहीबार सम्झौता गर्छौँ । १२ बजेर ५५ मिनेटदेखि ३ बजेसम्म यो हो टिभीबाट शिक्षण गराइनेछ । ’ कट्वालले थप जानकारी दिए । टिभी टुडेकै अर्को च्यानल टिभी वानले भने टिभी टुडेबाट प्रसारण हुने शिक्षण सिकाईको रेकर्डेड प्रसारण गरिदिने भएको छ । विहान ८ बजेदेखि १० बजेसम्म २ देखि ६ कक्षा सम्मको प्रसारण पुनः गर्ने र फेरि १ बजेदेखि ३ बजेसम्म गर्ने भएको छ । त्यस्तै, बेलुका ५ बजेदेखि ७ बजेसम्म फेरि प्रसारण हुने भएको छ । यसरी टिभी वानले तीन पटक प्रसारण गरिदिने कट्वालले जानकारी दिए ।

शुल्क व्यवस्थापन कसरी ?

प्याब्सनले टेलिभिजनबाट प्रसारण हुने शुल्क केन्द्रीय समितिले व्यहोर्ने जनाएको छ । एक महिनासम्म कार्य गर्ने गरी सम्झौता गरिएकाले एक महिनापछि परिस्थिति हेरेर थप निर्णय गरिने दूरशिक्षा कार्यक्रम संयोजक आचार्यले खुल्पापाटीलाई जानकारी दिए । ‘हाम्रा जिल्ला, प्रदेशबाट पनि न्युनतम सदस्य विद्यालयबाट शुल्क उठाउँछौँ अनि केन्द्रबाट पनि हालेर चलाउँछौँ । ’ उनले बताए ।

शिक्षक छनौट कसरी ?

संयोजक आचार्यले शिक्षकको छनौट लागि विहीबार शिक्षकहरुसँग छलफल हुने बताए । ‘धेरै स्कुलका राम्राा टिचरले चाहना जनाउनुभएको छ । भोलि टुंगो लगाउँछौँ ।’

मुख्य विषयमात्र

प्याब्सनले दुरशिक्षा कार्यक्रममा मुख्य विषयमात्र अध्यापन गराउने भएको छ । विषय र समयबारे भोलि छलफल गरेपछि सार्वजनिक गरिने समिति सदस्य कटवालको भनाइ छ ।