एसइई नगर्ने सरकारको निर्णय, आन्तरिक मुल्याङकनका आधारमा ग्रेड निर्धारण

काठमाडौँ –२०७६ सालको स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइइ) सरकारले अब नगर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण स्थगित भएको एसईई परीक्षा हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर नतिजा सार्वजनिक हुने बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने वा अहिलेको कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइइ परीक्षा लिनेजस्ता विकल्प अघि सारेको थियो । बुधबारको मन्त्रिपरिषद् बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल एसईई लिन सम्भव नभएको भन्दै विद्यार्थीको अध्ययन निरन्तरताका लागि बाधा अड्काउ फुकाउ अध्यादेश जारी गरेर यस पटक एसईई नलिने भनी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए।

शिक्षा ऐन २०२८ को दफा ४ (ट) बमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो। विद्यालयहरूमा क्वारेन्टाइन स्थल बनाइएकाले पनि तत्काल परीक्षा सम्भव नहुने निष्कर्षमा मन्त्रिपरिषद् बैठक पुगेको जनाइएको छ ।

एसइइको परीक्षा गत चैत ६ गते हुने तालिका थियो । तर कोरोना भाइरसका जोखिम बढेको भन्दै सरकारले चैत ५ गते परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । एसईईमा देशभरका कुल ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए।