एन्फा आपत्कालिन बैठकका निर्णयः फुटबल प्रशिक्षण जुलाइबाट थाल्ने

काठमाडौँ –अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आपतकालिन बैठकले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आगामी महिनाबाट थाल्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले विश्वकप छनोट खेलिरहेको टिमको प्रशिक्षण जुलाईबाट गर्ने निर्णय गरेको हो । यसका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने र प्रक्रिया अघि बढाउने एन्फाले जनाएको छ ।

कोरोना भाईरसको महामारीको कारण गत मार्चबाट टिमको प्रशिक्षण रोकिएको थियो । तर, विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको बाँकी खेल अक्टोबरबाट सुचारु हुने भएपछि नेपालले जुलाईबाट प्रशिक्षण थाल्ने भएको हो ।

एसियन फुटबल फेडेरसन (एएफसी) ले विश्वकप छनोट र एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो भने नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।

एन्फा कार्यसमिति बैठकले राष्ट्रिय टिममा रहेका ३५/३५ महिला र पुरुष खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।
एन्फा बैठकले भक्तपुर जिल्ला फुटबल संघले विधान विपरीत कार्य गरेको भन्दै मौजुदा कार्यसमिति भंग गरी किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । एन्फाको विधान र नियमावली अनुसार हुनुपर्ने क्लब दर्तासमेत नगरेको, क्लबका सदस्यहरुको संख्यासमेत नपुर्‍याएर जिल्ला संघको गतिविधि सञ्चालन गरेको, एन्फाले पठाएको प्रतियोगिता नियमावली मिचेर आफूखुशी रकम उठाई लिग सञ्चालन गरेको गरेको भन्दै एन्फाले कारबाही गरेको हो ।

बैठकले कास्की जिल्ला फुटबल संघका अध्यक्षबारे छानबिन गर्न गठित समिति संयोजक रत्नकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्दै छानबिन समितिको संयोजकमा उपाध्यक्ष वीरबहादुर खड्कालाई जिम्मा दिएको छ ।

हेर्नुहोस् एन्फाका निर्णयहरु :