जर्मन बुण्डेश लिगा : लिगको दुई खेल बाँकी रहँदै बायर्न म्युनिख उपाधि विजेता

एजेन्सी – लिगको दुई खेल बाँकी रहँदै बायर्न म्युनिखले जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि जितेको छ । बायर्नको लगातार आठौं पटक उपाधि जित हो । १० खेलाडीमा समेटिएको बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १–० को जित निकाल्दै उपाधि जीतेको हो ।

वेर्डरविरुद्ध बायर्नको जीतमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । खेलको ४३ औं मिनेटमा लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए ।

खेलको ७९ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो । अल्फोन्सो डेभिसले दोहोरो पहेंलो कार्ड पाएपछि घरेलु टोलीले अन्तिम समयमा एक खेलाडी बढी खेल्न पाएपनि गोल फर्काउन भने सकेन ।

जीतसँगै बायर्नले ३२ खेलमा ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो । दोस्रो स्थानमा रहेको डर्टमुन्डको ३१ खेलमा ६६ अंक रहेको छ । डर्टमुन्डको ३ खेल बाँकी रहँदा बायर्न १० अंकले अगाडी रहेपछि उपाधि पक्का भएको हो ।