चेल्सी एफए कपको फाइनलमा, उपाधिका लागि आर्सनलसँग खेल्ने

एजेन्सी – चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली स्टेडियममा आइतबार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो ।

चेल्सीलाई जीत दिलाउन ओलिभर जिरुड र मासन माउन्टले एकएक गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४६औं मिनेटमा माउन्टले गोल गर्दा चेल्सीको अग्रता २–० को बन्यो ।

खेलको ७४औं मिनेटमा युनाइटेडका मग्वाएरले आत्मघाती गोल गर्दा चेल्सीले ३–० को अग्रता बनायो । त्यसपछि खेलको ८६औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा एक गोल फर्काएपनि चेल्सी ३–१ ले विजयी भयो ।

अब चेल्सीले उपाधिका लागि आर्सनलसँग अगष्ट १ मा वेम्बलीमा खेल्नेछ ।