चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक–एक गोल गरे ।

क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।चेल्सको छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । विलियनको पासमा जेरुडले सहज गोल गरे ।

खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता २(० को बन्यो । उनले पनि विलियनको पासलाई सदुपयोग गरे ।

तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी २–१ ले अघि रह्यो । खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३(१ को अग्रता दिलाए ।

मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै रुबेनको पासमा उनले पोस्टको जाली चुमाए । त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३–२ गोल अन्तरले बिजयी भयो ।

चेल्सीले लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हो ।