एन्फाले डाक्यो आपत्कालीन बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गर्न शुक्रबार केन्द्रीय कार्यसमितिको आपत्कालीन बैठक डाकेको छ ।

पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै वरिष्ठ उपाध्यक्ष नेम्बाङले निवेदन दर्ता गराएपछि शुक्रबार ४ बजेका लागि आपत्कालिन बैठक डाकिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए ।

लगत्तै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा नदिन र केही दिन आराम सुझाव दिएपछि अलमुताइरीले लिखितरुपमा राजीनामा बुझाएका छैनन । शुक्रबारको बैठकमा नेपालमा १३ औँ साफ च्याम्पियनसिप आयोजनाबारे पनि छलफल हुने प्रवक्ता राइले बताए । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो ।