काठमाडौँका विद्यालयमा असोज ११ गतेदेखि पढाई सुरु हुने

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत रहेका विद्यालय आगामी असोज ११ गतेदेखि खुल्ने भएका छन । नगरपालिकाको शिक्षा समितिको बैठकले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरी विद्यालय तीन सिफ्टमा खुला गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख कृष्णहरि थापाका अनुसार कक्षा १ देखि ५ सम्म विहान ११ बजेदेखि २ बजेसम्म, कक्षा ६ देखि १२ सम्म विहान ७ बजेदेखि १० बजेसम्म र विद्यार्थी धेरै हुनेले बेलुका ३ बजेदेखि ६ बजेसम्म गरी तीन सिफ्टमा सञ्चालन गरिन लागेको जानकारी दिए । विद्यालय सञ्चालनका लागि नगरपालिकाले ५ गतेसम्म विद्यार्थी भर्ना लगायत अभिलेखीकरणका लागि समय दिएको छ ।

‘विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय खोल्न पाउँछ । सम्भव भए स्वास्थ्य उपकरण राखेर जाँजको व्यवस्था मिलाउनुपर्छ । संस्थागतले आफैँ र सामुदायिक विद्यालयका लागि नगरपालिकाले व्यवस्था गरिदिनेछ ।’ थापाले खुल्लापाटीलाई जानकारी दिए ।

शुल्क सेवा अनुसार

नगरप्रमुख थापाका अनुसार विद्यालयले दिएको सेवा अनुसारको शुल्क लिन पाउने भएको छ । नगरप्रमुख थापाले विद्यालयले बस सञ्चालन गरे बसको, अतिरिक्त क्रियाकलापको पनि शुल्क लिन पाउने तर सेवा नदिएको शुल्क समेत जोडन भने नपाउने जानकारी दिए।

‘पहिलेजस्तो सबै शीर्षक जोडेर शुल्क लिन पाईन्न । ट्युशन, बस भए बस, अतिरिक्त क्रियाकलाप लगायको शुल्क लिन पाइन्छ ।’ थापाले जानकारी दिए ।