मृत्यु भएको ८ दिनपछि कोरोना पुष्टि, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौँ – नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ। जेठ ४ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाको पोजेटिभ देखिएको हो।

७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए। शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौँ ल्याइएको थियो ।

उनको मृत्यु भएको ८ दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो । मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन्। यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।