असार १ देखि प्याब्सनले टेलिभिजनमार्फत पढाई थाल्ने

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले असार १ गतेदेखि टेलिभिजनमार्फत पढाई थाल्ने भएको छ । यसका लागि उसले जनता टेलिभिजन छनौट गरेको छ । जनता टेलिभिजनबाट प्याब्सन दूरशिक्षा कार्यक्रम संचालन गर्ने गरी सम्झौता भएको प्याब्सन केन्द्रीय अध्यक्ष टीकाराम पुरीले खुल्लापाटीलाई जानकारी दिए ।

‘ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सबै विद्यार्थीलाई लक्षित गरी कार्यक्रम संचालन गर्न लागेका हौँ । दूर दराज र ग्रामीण क्षेत्रसम्मका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन हुनेछ ।’ असार १ गतेदेखि दूरशिक्षा कार्यक्रम हुन लागेको उनले बताए ।

प्याब्सनले वैकल्पिक शिक्षणका लागि केन्द्रीय उपाध्यक्ष गोपाल आचार्यको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिमा केन्द्रीय उपमहासचिवद्धय आरबी कट्वाल र किशोर गौतम सदस्य छन् ।

सोही समितिले मंगलबार जनता टेलिभिजन छनौट गरी कार्यक्रम सुरु गर्ने भएको हो ।  प्याब्सन उपाध्यक्ष एवं प्याब्सन दूरशिक्षा कार्यक्रमका संयोजक गोपाल आचार्य, उपमहासचिवद्वय किशोर गौतम र आरबी कट्वालले कार्यक्रम सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्याब्सन दुरशिक्षा कार्यक्रम कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी संचालन हुनेछ । दूरशिक्षा अन्तर्गत पाँच प्रमुख विषयको कक्षा संचालन हुनेछ । दैनिक बिहान १० बजेर ०५ मिनेटबाट सुरु हुने प्याब्सन दूरशिक्षा कार्यक्रम मध्यान्ह १२ बजेर ५५ मिनेटसम्म संचालन हुनेछ । ‘असार महिनाभर हेर्छौँ । त्यसपछि परिस्थिति हेरेर निर्णय लिन्छौँ ।’ अध्यक्ष पुरीले बताए ।

प्राथमिक तहका लागि अर्को टेलिभिजन हेर्दै

प्याब्सनले प्राथमिक तहका लागि अर्को टेलिभिजन छनौट गर्ने भएको छ । यसका लागि दुई टेलिभिजनसँग कुराकानी भैरहेको दुरशिक्षा कार्यक्रम समिति सदस्य आरबी कट्वालले जानकारी दिए । सम्भवतः आजै सम्झौता गर्नेछौँ । ‘टिभी टुडेसँग आज प्राथमिक तहको कार्यक्रम सञ्चालनका लागि सम्झौता हुनेछ । त्यस्तै पूर्व प्राथमिक तहका लागि पनि अर्को टेलिभिजनसँग कुराकानी भैरहेको उनले बताए ।

र, यो पनि पढ्नुहोस् :

वैकल्पिक शिक्षण तयारीमा निजी विद्यालय