इस्टुले भन्यो : तलब चाहियो, अभिभावक शुल्क तिर्नुस

काठमाडौँ – संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले निजी विद्यालयका ५० प्रतिशत बढी शिक्षक कर्मचारीले पुसदेखिकै तलब नपाएको भन्दै तलब दिन तथा शिक्षक कर्मचारीलाई कामबाट निष्काशन नगर्न आग्रह गरेको छ ।

इस्टुका अध्यक्ष होमकुमार थापा र महासचिव भोला चालिसेले आज एक विज्ञप्ति जारी गरी पुसदेखिकै तलब शिक्षकहरुले पाउन नसकेको तथा कोरोना महामारीको संकट देखाउँदै निजी विद्यालय सञ्चालकले शिक्षक निष्काशन गर्न थालेको भन्दै आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा विद्यालय सञ्चालकलाई सहुलियत ऋण दिन तथा अभिभावकलाई फी तिर्न आग्रह गरिएको छ । त्यसो नभए सरकारले तलब दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ –‘परिस्थिति सहज नहुञ्जेल कि त शिक्षक कर्मचारीको तलब सरकारले व्यहोर्नुपर्छ कि त सहुलियत दरमा सञ्चालकज्यूहरुलाई ऋण उपलब्ध गराउनुपर्छ ।’

इस्टुले विज्ञप्तिमा अगाडि भनेको छ –‘ अभिभावकज्यूहरुलाई पनि मासिक शुल्क वा न्युनतम शुल्क क्रमशः तिर्दै जान हामी हार्दिकताका साथ अनुरोध गर्दछौँ ।’ इस्टुले शिक्षक कर्मचारीलाई तलब दिन, सेवाबाट ननिकाल्न तथा निष्काशितको पुनर्वहालीको पनि माग गरेको छ ।

हेर्नुहोस् इस्टुको विज्ञप्ति :

र, यो पनि पढ्नुहोस् :

आन्दोलनको तयारीमा इस्टु