आन्दोलनको तयारीमा इस्टु

काठमाडौँ – संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) आन्दोलनको तयारीमा जुटेको छ । चैत्र महिनादेखि तलब नपाएको तथा हाल अनलाइन लगायत शिक्षण सिकाइका कार्य गरेको भएपनि न्युनतम तलबसमेत पाउन नसकेको भन्दै युनियन आन्दोलनको तयारीमा लागेको हो ।

तीन महिनादेखि शिक्षणसंस्था बन्द हुँदा निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले तलब पाउन सकेका छैनन् । कतिपय निजी विद्यालयले चैत्र महिनाको तलब खुवाए पनि वैशाखदेखि शुल्क उठाउन नपाएपछि तलब दिन नसकिने भन्दै अधिकांश विद्यालयले तलब दिएका छैनन् ।

सरकारले गत चैत्र १६ मा एक महिनाको शुल्क फिर्ता दिन वा नउठाउन निर्देशन दिएको थियो भने बैंकको व्याज, ऋण, घरभाडाका कारण ठूलो समस्यामा पुगेको भन्दै बक्यौता भुक्तानी र मासिक शुल्क तिर्न अभिभावकलाई अपिल गरेपनि विद्यार्थी संगठनले शुल्क नतिर्न अभिभावकलाई गरेको आह्वान र शुल्क नलिन निजी विद्यालयलाई चेतावनी दिएसँगै निजी विद्यालयका सञ्चालकहरु नो कलेक्शन नो डिष्ट्रिव्युशन भन्दै बसेका छन् ।

यसले निजी विद्यालयका शिक्षक कर्मचारी मारमा परेका छन् । संस्थागत विद्यालय शिक्षक युनियनका महासचिव भोला चालिसेले खुल्लापाटीसँग भने –‘शिक्षक÷कर्मचारीबारे कसैलाई चिन्ता देखिन्न । हामी भोकै मर्नुपर्ने बाध्यतामा लैजान लागियो । अब यसरी हुन्न । चुलो बाल्न पनि आन्दोलनमा उत्रिन लागेका छौँ ।’

छायाँ शिक्षामन्त्रीको ध्यानाकर्षण
यसैबीच, निजी विद्यालय शिक्षक युनियन (इस्टु)ले आज छायाँ सरकारका शिक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाको ध्यानाकर्षण गराएको छ ।

भेटमा इस्टुले तलब दिलाइदिन, कतिपय शिक्षण संस्थाले सेवाबाट हटाएको भन्दै सेवा निरन्तरता र सामाजिक सुरक्षा कोषमा आबद्ध हुने वातावरण मिलाइदिन आग्रह गरेका थिए । जवाफमा छायाँशिक्षामन्त्री थापाले आइतबार शिक्षामन्त्रीसँग भेटन लागेको भन्दै मागबारे जानकारी गराउने, समस्या समाधानका सहजीकरण गर्ने आश्वासन दिएका थिए ।

साथै विद्यार्थी संगठनले चेतावनी दिएकोबारे अनावश्यक चिन्ता नलिन भन्दै विद्यार्थी संगठनलाई आफूहरुले सम्झाउने बताएको भेटमा सहभागी एक शिक्षकले खुल्लापाटीलाई जानकारी दिए ।

इस्टुले सत्तारुढ नेकपासहित अन्य दलका नेताको पनि यस विषयलाई लिएर ध्यानाकर्षण गराउने भएको छ ।