क्वारेन्टिनमैँ मृत्यु भएका युवकसँग रहेका ४७ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा एकैपटक थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बाँकेमा क्वारेन्टिमैँ मृत्यु भएका बाँकेका २५ वर्षीय युवासँगै रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना संक्रमणबाट मृत्यु भएका युवासँगै रहेका ४७ जनामा कोरोना संक्रमण भएको पाइएको पुष्टि गरे । भेरी अस्पतालस्थित प्रयोगशालामा भएको बाँकेमा ४७ जना मध्ये एक जना महिला र ४६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।  १९० जनाको कोरोना परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका युवाको आइतबार निधन भएको थियो ।  हालसम्म दुई जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन् ।