कोरोना संक्रमण : थप ७ जनाको मृत्यु, १५५९ थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टाको अविधमा १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ हजार २ सय ५ पीसीआर नमूना परीक्षण गर्दा ९ सय ७७ पुरुष र ५ सय ८२ महिलामा संक्रमण पुष्टि भएको हो ।

भदौ २४ गतेदेखि प्रत्येक दिन नेपालमा एक हजारभन्दा बढी संक्रमित थपिँदै आएका छन् । थपिएका संक्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ गरी उपत्यकामा आज ९ सय २ संक्रमित थपिएका छन् ।

त्यस्तै, मोरङमा ९८, सुनसरीमा ३८, मकवानपुर ३८, नवलपरासी पूर्वमा ४५, बाँकेमा २७, रुपन्देहीमा ७०, सुर्खेतमा ४१, कैलालीमा २३ जनामा संक्रमण पुष्टि भएको छ । मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ । मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य रहेको छ । संक्रमण पुष्टि भएकामध्ये २० हजार ८ सय ९१ जना आइसोलेसनमा रहेका छन ।

तिमध्ये १० हजार ८ सय ४ जना होम आइसोलेसनमा र १० हजार ८७ जना संस्थागत आइसोलेसनमा रहेका छन । संक्रमितमध्ये २ सय १ जना सघन उपचार कक्ष र ३० जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घन्टामा थप १ सय ५७ जना कोरोनामुक्त भएका छन । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।

अहिले देशभरका क्वारेन्टिनमा ५ हजार ४ सय २८ जना बसिरहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि अहिलेसम्म १० लाख २१ हजार ५ सय ३ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

थप सात जनाको मृत्यु

यसैबीच, कोरोना भाइरस संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष र दुई महिला रहेका छन ।  सुनसरी, मोरङ, सप्तरी, काठमाडौँ र रुपन्देहीमा एक एक पुरुषको मृत्यु भएको छ । त्यस्तै संक्रमणबाट काठमाडौँका दुई महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।