टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भए नोबेल मेडिकलले १५ लाख दिने

काठमाडौं – विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आईसीसी टी–२० विश्वकप क्रिकेट टोलीलाई विश्वकपमा छनौट भएमा १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्र प्रसाद उपाध्यायले नेपाल क्रिकेट संघलाई पत्र लेखी क्रिकेट टोली र अफिसियललाई पुरस्कारको घोषणा गरिएको जानकारी दिनुभएको हो ।

नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलाई कलेजका प्रमुख कार्यकारी प्रमुख डा. भोगेन्द्रप्रसाद उपाध्यायले पुरस्कार घोषणाको पत्र हस्तान्तरण हस्तान्तरण पनि गर्नुभएको छ ।अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप पाँच लाख प्रदान गर्ने जनाएको छ ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध–निर्देशक र हाल मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरूलाई प्रोत्साहन गर्न उक्त घोषणा गरेको हो । काठमाडौंमा जारी ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४ एसिया छनोट’ मा नेपाली टोलीले गरिरहेको उत्कृष्ट प्रदर्शनमा खेलाडिहरुको सम्मान र सफलताको कामनासाथ पुरस्कार रकम घोषणा गरिएको डा. उपाध्यायले जारी गर्नुभको विज्ञप्तिमा उल्लेख छ ।

डा. शर्माले खेलाडिहरुको उच्च मनोबल बढाउन तथा उनीहरुको सम्मानस्वरुप खेलाडिहरुको निःशुल्क र सहुलियत शुल्कमा उपचारको प्रबन्ध गराउनुभएको थियो । साथै दुरदराजका गरिब असहाय एवं विपन्नका लागि पनि नोबेल अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्दै आइरहेको छ ।

नेपाल विश्वकपमा छनोट हुनु नेपालका लागि गौरवको विषय रहेको भन्दै कलेजले नेपाली क्रिकेटको उच्च प्रशंसा गरेको छ ।