कोरोना संक्रमित पाइएपछि केएमसी अस्पताल अनिश्चितकालिन बन्द

काठमाडौँ – काठमाडौं मेडिकल कलेजका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालिन बन्द गरिएको छ । अस्पतालले एक सूचना जारी गर्दै अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक लगायत सबै सेवाहरु बन्द गरेको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्द राज जोशीले अस्पतालमै कोरोना संक्रमित भेटिएपछि अस्पताल निर्मालीकरण गर्नका लागि केहि दिन अस्पतालको सबै सेवा बन्द गरिएको जानकारी दिए ।

‘हाम्रो अस्पतालमै संक्रमित भेटिएपछि अन्य व्यक्तिलाई पनि जोखिम हुनसक्छ, त्यसैले अस्पताललाई निर्मलीकरण गर्नका लागि केही समयलाई अस्पताल बन्द गरेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित लाइभ अपडेटमा काठमाडौं मेडिकल कलेजमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका २४ देखि ३२ वर्षका ३ महिला र २८ वर्षका एकजना पुरुष संक्रमित भएको र सबैजना स्वास्थ्यकर्मी भएको जानकारी दिएका थिए । तर अस्पतालमा मेडिकल डाइरेक्टर प्राडा जोशीले भने अस्पतालमा रहेका दुईजना स्वास्थ्यकर्मी र दुईजना बिरामी भएको बताए ।