१८ औँ राष्ट्रिय ज्योतिष वास्तु सम्मेलनको तयारी पूरा, उद्घाटन सञ्चारमन्त्रीले गर्ने

काठमाडौँ – नेपाल ज्योतिष परिषद्ले दाङको घोराहीमा विहीवार देखि १८औं राष्ट्रिय ज्योतिष, वास्तु तथा अध्यात्म सम्मेलन गर्ने भएको छ । सम्मेलनको सबै तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । दुई दिने सम्मेलनको उद्घाटन सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले गर्नुहुनेछ ।

नेपालभरका ज्योतिष, वास्तु तथा कर्मकाण्ड क्षेत्रमा लागेका व्यक्तित्वहरुलाई संगठित गरि ज्योतिष, वास्तु तथा कर्मकाण्ड पेशालाई मर्यादित र व्यवस्थित गराउन सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ । ‘ज्योतिष विज्ञानको अध्ययन, अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छरिएर रहेका ज्योतिषीय विषयबारे सर्वसाधारणमा ज्ञान दिलाउन प्रयास गर्ने, ज्योतिष विज्ञानको गरिमा र सत्यतालाई समाजमा जानकारी गराउने तथा संस्थाको उद्देश्य अनुसार नै संस्थाको संगठन सुदृढीकरण र विस्तारका लागि २५ औं वार्षिक साधारणसभा तथा १८ औं राष्ट्रिय ज्योतिष, वास्तु तथा अध्यात्म सम्मेलन २०८० को आयोजना गरिएको नेपाल ज्योतिष परिषद्का केन्द्रीय कार्यसमिति अध्यक्ष माधवराज पाण्डेले जानकारी दिनुभयो ।

सम्मेलनले लुम्बिनी प्रदेशको धार्मिक तथा सांस्कृतिक पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्ने नेपाल ज्योतिष परिषदका केन्द्रीय सचिव एवं सम्मेलनका संयोजक प्राध्यापक डा. अर्नुन प्रसाद भट्टराईले बताउनु भयो । उद्घाटन समारोहमा सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा, ज्योतिष परिषद्का संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पञ्चाङ्गकार डा. लोकराज पौडेल रहनेछन भने समापनका बेला लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्की, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी लगायत सहभागी हुनेछन । विभिन्न विद्धान गुरुहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै ज्योतिष, वास्तु तथा अध्यात्मबारे छलफल गरिनेछ ।

सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहित लगभग ७०० भन्दा बढी ख्याति प्राप्त सुप्रसिद्ध विशिष्ट ज्योतिषीहरुको सहभागिता रहने जनाईएको छ । सम्मेलनमा आचरण निर्माणमा पूर्वीय दर्शनको भूमिका, खगोल र विज्ञान, कुण्डली विज्ञान अनुसार पेशा, व्यवसाय, वैदेशिक यात्रा, दाङ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु, वास्तु विषयहरुमा छलफल हुने बताइएको छ । ज्योतिष परिषदको रजत वर्ष पनि भएकाले यसपटको सम्मेलन भब्य बनाउन २५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।