कोरोना संक्रमित ५०० नाघे, ४० जिल्लामा फैलियो संक्रमण

काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

कैलालीका तीन जना, डडेल्धुराका एक जना, वैतडीका एक र नेपालगञ्जका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३ पुरुषहरु रहेका छन् । उनीहरु क्रमश १९,२३ र २६ वर्षका रहेका छन् । उनीहरु ३ जना नै सरस्वती माविको क्वारेन्टाइमा रहेका व्यक्ति भएको मन्त्रालयले जनाएको छ ।

यस्तै डडेल्धुराका २८ वर्षीया एक जना पुरुष रहेका छन् । उनी परशुराम १० का व्यक्ति हुन् । उनी डडेल्धुरा अस्पतालमा उपचार छन् ।

यस्तै बैतडी जिल्लाका एक जना २२ वर्षीया पुरुष रहेका छन् । उनको बैतडी अस्पतालबाट नमूना संकलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।

यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगञ्जका १४ जनामा कोरोना संक्रमति पुष्टि भएको छ । उनीहरु १० देखि ६१ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

यस्तै मोरङका ४१ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म ४० जिल्लामा कोरोनाको संक्रमण फैलिएको पनि जनाएको छ ।