खेलकुद मन्त्रालयलाई ०.१६ प्रतिशत बजेट

काठमाडौैँ –अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा पेश गरेको बजेटमा युवा तथा खेलकुदका लागि २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याइएको छ । यो युवा र खेलकुद दुवैको समग्र बजेट हो । खेलकुद मन्त्रालयको बजेट करिब ३८ करोड घटेको छ ।

संघतर्फ २ अर्ब ७ करोड ७३ लाख, प्रदेशतर्फ ३९ करोड ६३ लाख र स्थानीय तहतर्फ ४० करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसरी सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको बजेट अनुमान गर्दा खेलकुदमा कुल बजेटको ०.१६ प्रतिशत मात्र विनियोजन गरेको देखिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने क्रममा फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने, मूलपानी मैदान निर्माणको काम सम्पन्न गर्ने लगायतका विषय बजेटमा समेटेको छ ।