सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल : आयोजकलाई स्तब्ध पार्दै नेक्सस बन्यो विजेता

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले १९ औँ सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल ट्रफीमा जित हासिल गरेको छ । विहीबार भएको फाइनलमा नेक्ससले आयोजक सैनिक आवासीय महाविद्यालयलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

नेक्ससका कृष्ण आलेमगर र डेनियल सेनले गोल गरे । सैनिकले एक गोल फर्काएको थियो । विभिन्न विद्यालयहरूका माझ सद्भाव र मित्रताको आधार तयार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उच्च लक्ष्यका साथ सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको यस प्रतियोगिताको १९औं संस्करणमा १२ विद्यालयहरूका १३ टिमहरू सहभागी थिए ।

जितपछि विजेता टिमलाई हौसला दिँदै नेक्सस इन्टर नेशनल एकेडेमीका संस्थापक प्राचार्य आरबी कटुवालले युवा पुस्ताका सम्भावना बोकका राष्ट्रिय फूटबल खेलाडि उत्पादन गर्ने ध्येयसहित विद्यालयले जोड दिएको जानकारी दिनुभयो । नेक्ससले यसअघि पनि विभिन्न प्रतियोगितामा जित हासिल गरेको जानकारी दिँदै प्राचार्य कटुवालले विद्यार्थीहरुको अध्ययनसँगै होलिस्टिक विकासका लागि विद्यालयले कार्य गरिरहेको जानकारी दिनुभयो ।