ए डिभिजन लिग क्लबहरुले भने : एन्फाले बेवास्ता गर्यो

काठमाडौँ –सहिद स्मारक ए डिभिजन लिग क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेवास्ता गरेको आरोप लगाएका छन । ए डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एन्फाले सम्झौता गर्ने तर त्यस अनुरुपको रकम नदिँदा समस्यामा परेको जानकारी दिए ।

एन्फाका पूर्व अध्यक्ष तथा हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाभित्र चरम राजनीतिकरण र व्यवस्थापकीय कमजोरीले लिग क्लबहरुको यस्तो अवस्था भएको जानकारी दिनुभयो । ‘यस्तै अवस्था हो भने त लिग सकिए पनि पैसा आउला जस्तो लाग्दैन। ए डिभिजन कै हालत यस्तो छ, बी सी को विश्वास कसरी गर्ने ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।

योजनावद्ध तरिकाले कार्यनीति बनाएमा सुनरुप फुटबल बेच्न सकिने भएपनि उचित व्यवस्थापन नहुँदा फुटबल ओरालोतर्फ लागेको उहाँले बताउनुभयो । फुटबल सुन भएपनि एन्फाले बेच्न नसकेको उहाँको आरोप छ ।
एन्फाले दोस्रो किस्ताको तयारी खर्च, खेलको म्याच मनि, म्याच बल, खेलाडीले पाउनु पर्ने म्यान अफ दि म्याच रकम एन्फाले अहिलेसम्म नदिएको क्लबहरुले आरोप लगाएका छन ।

संकटा क्लबका अध्यक्ष तथा एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले तयारी खर्चको दोस्रो किस्ता नपाएको, म्याच मनि नपाएको बताउनुभयो । उहाँले भन्नुभयो –‘ अनुदान मागेको हैन । लिग रोक्नु पनि फुटबललाई हानी हुन्छ । क्लबलाई अन्याय परेको छ ।’

एन्फाले ुएु डिभिजन क्लबलाई तयारी खर्च स्वरूप पहिलो किस्तामा १५ लाख, दोस्रो किस्तामा १० लाख र तेस्रो किस्तामा ७ लाख ५० हजार दिने निर्णय गरेको थियो। पहिलो किस्ताको रकम भने क्लबले पाईसकेका छन् । यस्तै एन्फाले हरेक खेलको विजेतालाई म्याच मनि वापत ५० हजार, खेल बराबरी भएका २५/२५ हजार र म्यान अफ दि म्याचलाई १० हजार दिने निर्णय गरेको थियो।