नेक्ससमा भब्य अभिभावक दिवस, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट नवनिर्मित भवनको शिलान्यास

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले आफ्नो १७ औँ अभिभावक दिवस भव्य रुपमा मनाएको छ । विद्यालय प्राङगणमा दुई दिन सम्म भएको अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले अन्तर्निहित प्रतिभा प्रष्फुटन गरेका थिए भने विविध कार्यक्रममार्फत अभिभावकलाई सूचना, मनोरञ्जन एवं जानकारी दिइएको थियो ।

विद्यार्थीहरुले सन्देशमूलक नाटक, गीत, गायन नृत्य लगायत प्रस्तुत गरे भने विद्यालयले आगामी शैक्षिक सत्रका योजना एवं विविध जानकारी अभिभावकलाई गराएको थियो । अभिभावक दिवसकै अवसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेक्ससको अत्याधुनिक सुविधासहितको नेक्सस भवनको शिलान्यास गर्नुभयो ।

कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ पनि उपस्थित हुनुहुन्थ्यो ।

विभिन्न स्रष्टाहरुकोे सम्मान

अभिभावक दिवसकै अवसरमा नेक्ससले विभिन्न प्रतिभाशाली व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नेक्ससले पूर्व प्रधानसेनापति एवं नेक्ससका संरक्षक रुक्मांगद कटवाललाई संरक्षक प्रशंसापत्र प्रदान गरेको छ ।

गायक रामकृष्ण ढकाललाई पनि सम्मान पत्र प्रदान गरेको छ । त्यसैगरी नेपाल ओलम्पियन एशोसिएशनका अध्यक्ष एवं खेलाडि दीपक विष्ट लाई पनि सम्मान गरेको छ । उहाँहरुलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सम्मान गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो भूखण्डमा २८०० वर्ष पहिले नै विश्वविद्यालय भएको र चाणक्य जस्ता विद्यार्थी उत्पादन गरेको र चाणक्य नीतिकै कारणले विश्वभर उपर्युक्त सन्देश फैलिएको बताउनुभयो । साथै आजभन्दा १६०० वर्ष अघि अर्को विश्वविद्यालय खोलिएको भन्दै पृथ्वी गोलो र गुरुत्वाकर्षणको आर्य भट्ट महर्षि, ११५० मा भास्कराचार्य ज्योतिषका विद्धानले सिद्धान्तशिरोमणि पुस्तक निकालेको भन्दै दुनियामा विश्वविद्यालयको परिकल्पना भन्दा पहिले नै विशिष्ट विद्धान व्यक्तिहरु पनि यसै भूभागमा जन्म लिएको बताउनुभयो । आजको दिनमा हामी हाम्रा बालबालिका कुनै पनि हिसाबले पछि नपर्ने गरी अघि बढेको बताउनुभयो ।

गोर्खाली नेपाली हामी बहादुर मात्र होइन विद्धान पनि भएको बताउनुभयो । पाणिनीले व्याकरण रचना गरेको लगायत विभिन्न व्यक्तिहरुले योगदान दिएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य आरबी कटुवालले शिक्षणसँगै विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा विद्यालयले जोड दिएको जानकारी दिनुभयो । विद्यालयले संस्कारसहितको शिक्षण सिकाईमा जोड दिएको उल्लेख गर्दै विद्यार्थीहरुको चौतर्फी विकासका लागि अभिभावक र विद्यालय अनि शिक्षक शिक्षिकाबीचको समन्वयले विद्यार्थीहरुको समुज्वल भविष्य निर्धारणमा उल्लेखनीय योगदान पुग्ने बताउनुभयो । साथै विद्यार्थीहरुको चौतर्फी विकासका लागि नेक्सस रिसर्च सेन्टरको सुरुवात गर्न लागिएको जानकारी दिनुभयो ।

शिक्षाको आलोकले आलोकित गराउँदै आएको, नेक्ससमा अध्ययन गर्ने विद्यार्थीहरु सबै क्षेत्रमा सक्षम बनेको भन्दै समग्र देशको शैक्षिक उन्नयनलाई प्रष्फुटित गराइरहेको बताउनुभयो । शैक्षिकसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेल, साहित्य लगायतमा हासिल गरेको विभिन्न उपलब्धि हासिल गरेको जानकारी दिनुभयो । क्याम्ब्रिज विश्वविद्यालयसँगको हातेमालो, कन्टिनिअस एसेसमेन्ट मोडेलसहित अध्यापन गराइरहेको जानकारी दिनुभयो । हरेक कक्षामा स्मार्ट बोर्डबाट पठन पाठन गराइने, एसिसहितको कक्षाकोठा, बुकसहितको परीक्षा लिने, शिक्षक शिक्षिकाको तालिमसहित क्षमता अभिवृद्धि गराइने गरेको जानकारी दिनुभयो ।

नेक्सस रिसर्च सेन्टर उद्घाटन

कार्यक्रममा केन्द्रीय प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना र पूर्व प्रधानसेनापति एवं नेक्ससका संरक्षक रुक्मांगद कटुवालले नेक्सस रिसर्च सेन्टरको उद्घाटन गर्नुभयो । रिसर्च सेन्टरको सरक्षकमा रुक्मांगद कटवाल रहनुहुने भएको छ । डा. देवी नेपाल, डा. वासुदेव काफ्ले लगायतले रिसर्च सेन्टरबाट काम अघि बढाइने नेक्ससले जानकारी दिएको छ ।

नेक्ससले अभिभावक दिवसकै अवसरमा ११७ जना अभिभावकलाई पनि विशेष सम्मान गरेको छ । कार्यक्रममा प्याब्सन अध्यक्ष डिके ढुंगाना, फ्रन्टलाईन अस्पतालका सञ्चालक एवं नोबेल एकेडेमीका सञ्चालक सन्तोषमणि न्यौपाने, पूर्व सहसचिव मोहन थापा, अभिभावक, पत्रकार लगायत उपस्थित हुनुहुन्थ्यो । त्यसक्रममा गायक रामकृष्ण ढकालले गीत गाउँदा केपी शर्मा ओलीले मञ्चमैँ पुगेर नाच्नुभएको थियो ।