एम्बिसन एकेडेमीमा भानुभक्तीय रचनावाचन प्रतियोगिता सम्पन्न

काठमाडौँ – २०९औँ भानुजयन्तीका अवसरमा काठमाडौँको मध्य बानेश्वरस्थित एम्बिसन एकेडेमीले उपत्यकाव्यापी भानुभक्तिय रचनावाचन प्रतियोगिता आयोजना गरेको छ । विद्यालय प्रांगणमा भएको कार्यक्रममा काठमाडौँ उपत्यका भित्रका २३ विद्यालयका ४१ विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा भानुभक्त मेमोरियल स्कुल, ग्लोबल पाठशाला, पाठशाला नेपाल फाउन्डेसन, नेक्सस, ज्ञानदीप शिक्षा सदन, संस्कृत माध्यमिक विद्यालय, विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय, अक्सीडेन्टल स्कुल, काठमाडौँ प्रज्ञा कुञ्ज, डनबस्को स्कुल, रोम्बस स्कुल, रिडर्स इन्टरनेसनल स्कुल, मोक्षदा स्कुल, कोटदेवी स्कुललगायतका विद्यालय सहभागी भएको आयोजक एम्बिसन एकेडेमीले जनाएको छ ।

प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीकी छात्रा स्मारिका पोख्रेलले प्रथम स्थान, भ्याली भ्यु स्कुलकी गरिमा घिमिरेले द्वितीय स्थान र विद्याविकास इंग्लिस स्कुलकी आरोहा पौडेल, लिटिल एन्जेल स्कुलकी पलक ताम्राकार तथा नेपाल वेदविद्याश्रमका उत्सव ढुंगानाले तृतीय स्थान हासिल गरे । प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने पाँच जनालाई क्रमशः पाँच हजार, तीन हजार र दुई दुई हजार नगद पुरस्कारसहित प्रमाणप्रत्र प्रदान गरिएको थियो भने अन्यलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

एम्बिसन एकेडेमीका निर्देशक तथा साहित्यकार देवीप्रसाद घिमिरेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्राज्ञ माया ठकुरी प्रमुख अतिथि हुनुहुन्थ्यो त्यसैगरी प्राज्ञ देवी नेपाल विशिष्ट अतिथि हुनुहुन्थ्यो । कवित्रय गणेश खतिवडा, देबु लुइँटेल र रूपक अलङ्कारले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत गर्ने क्रममा एम्बिसन एकेडेमीका प्राचार्य विष्णुकुमार घिमिरेले भानुजयन्ती तथा मोतीजयन्तीका अवरसमा एम्बिसन एकेडेमीले रचनावाचन प्रतियोगिता तथा विशिष्ट स्रष्टा सम्मान गर्दै आएको प्रसंग स्मरण गराउँदै यहाँसम्म आइपुग्ने प्रतियोगी भाइबहिनी सबैलाई आफूले पुरस्कृत प्रतिभाकै रूपमा देखेको कुरा बताउनुभयो ।

विशिष्ट अतिथि प्राज्ञ देवी नेपालले कार्यक्रममा उपस्थित कवि तथा प्रतियोगीहरूलाई आफूले भानुभक्तको नयाँ अवतारका रूपमा देखेको बताउनुभयो । प्रमुख अतिथि माया ठकुरीले आफ्नो बाल्यकालीन अनुभूति बताएर सहभागीहरूलाई भावुक बनाउनुभयो । कविहरू सुदेश सत्याल, रेजिना अपगाइँ, देबु लुइँटेल तथा गणेश खतिवडाले आफ्ना कविता सुनाएर कार्यक्रमको गरिमा बढाउनुभयो ।

उपस्थित कवि तथा अतिथिहरूलाई एम्बिसन एकेडेमीले मायको चिनोसहित सम्मान गरेको थियो । ११ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा एम्बिसन एकेडेमीका विद्यार्थीहरूले भानुभक्तका रचनालाई वाद्यवादनसहित प्रस्तुत गरेका थिए । साहित्यकार ज्ञानु विद्रोहीको कुशल उद्घोषणमा सञ्चालन भएको कार्यक्रमलाई अध्यक्ष देवीप्रसाद घिमिरेले प्रतियोगी विद्यार्थी, सहभागी विद्यालय, प्रतिनिधि शिक्षक, अतिथि कवि, कार्यक्रमलाई सम्पन्न गर्न मुख्य भूमिका खेल्ने एम्बिसन एकेडेमीका शिक्षक, कर्मचारी तथा विद्यार्थी सबैलाई धन्यवाद दिएर समापन गर्नुभयो ।