लोयल्टीमा जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ । २०९ औँ भानु जयन्तीका अवसरमा काठमाडौँको मण्डिखाटारस्थित लोयल्टी एकेडेमीले जिल्लाव्यापी कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा काठमाडौँका २२ विद्यालयका विद्यार्थी सहभागी भए । प्रतियोगितामा विद्यार्थीहरुले आफूले रचना गरेका मौलिक रचना वाचन गरेका थिए ।

प्रतियोगितामा साहित्यकार देवी घिमिरे, कवि दशरथ भट्टराई र कवियित्री रेजिना अपागाईँ निर्णायक रहनुभएको थियो । प्रतियोगितामा भ्याली भ्यू स्कुल बानेश्वरकी समृद्धि पोखरेल प्रथम भईन । ज्ञानदीप शिक्षा सदनका दीपशिखा मुखिया द्धितीय भए । त्यसेगरी एम्बिसन एकेडेमीकी अन्तरा घिमिरे, रिलायन्स एकेडेमीकी सृष्टि कुलुङ र नेपाल वेद विद्याश्रमका उत्सव ढुंगाना तृतीय भए ।

कार्यक्रममा प्रथम स्थान हासिल गर्नेलाई नगद ५ हजार, द्धितीय स्थान हासिल गर्नेलाई नगद ४ हजार र तृतीय हासिल गर्नेलाई नगद ३ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई विद्यालयका संस्थापक अध्यक्ष विजय साम्बेहाम्फेले नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

लोयल्टीले हरेक वर्ष भानु जयन्तीका अवसरमा कविता वाचन प्रतियोगिता आयोजना गर्ने गरेको विद्यालयका प्राचार्य वीरेन्द्र कुरुम्बाङले जानकारी दिनुभयो ।