१५९३ जनामा संक्रमण, थप १० जनाको मृत्यु

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको हो । पछिल्लो २४ घन्टामा १० हजार ८ सय ९१ पीसीआर नमूना परीक्षण गर्दा ९ सय ५७ पुरुष र ५ सय ५६ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

भदौ २४ गतेदेखि प्रत्येक दिन नेपालमा एक हजारभन्दा बढी संक्रमित थपिदै आएका छन । थपिएका संक्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाका रहेका छन । काठमाडौंमा ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ गरी उपत्यकामा ९ सय ३४ संक्रमित थपिएका हुन ।

त्यस्तै मोरङमा १ सय एक, सुनसरीमा ३२, पर्सामा २३, चितवनमा ६२, बाँकेमा ४१, रुपन्देहीमा ९५ र कैलालीमा २७ जनामा संक्रमण पुष्टि भएको छ । मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ ।

मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला कोरोना संक्रमणमुक्त रहेका छन । संक्रमण पुष्टि भएकामध्ये २० हजार ३ सय ९६ जना आइसोलेसनमा रहेका छन । तिमध्ये १० हजार ७ सय ७ जना होम आइसोलेसनमा र ९ हजार ६ सय ८९ जना संस्थागत आइसोलेसनमा गरेका छन । संक्रमितमध्ये २ सय १३ जना सघन उपचार कक्ष र ३४ जना भेन्टिलेटरमा छन । पछिल्लो २४ घन्टामा थप ७ सय ३१ जना कोरोनामुक्त भएका छन । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।

अहिले देशभरका क्वारेन्टिनमा ५ हजार ७ सय ७८ जना बसिरहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि अहिलेसम्म १० लाख ९ हजार २ सय ९८ पीसीआर नमूना परीक्षण गरिएको छ ।

थप १० जनाको मृत्यु
यसैबीच, कोरोना भाइरस संक्रमणबाट थप दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात पुरुष र तीन महिला रहेका छन । बाँके, काठमाडौंका दुई–दुई, मोरङ, महोत्तरी र चितवनमा एक–एक जनाको मृत्यु भएको छ ।

त्यस्तै सर्लाही, काठमाडौं र बाँकेमा एक–एक महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।