मेगा बैंकले निजी विद्यालयलाई विना धितो १ करोडसम्म ऋण दिने

काठमाडौँ – मेगा बैंकले निजी विद्यालयलाई विना धितो ५ लाख देखि १ करोडसम्म ऋण दिने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र एनप्याब्सन आबद्ध विद्यालयलाई ५ लाखदेखि १ करोडसम्म ऋण दिनगरी सम्झौता भएको प्याब्सन केन्द्रीय अध्यक्ष टीकाराम पुरीले खुल्लापाटीलाई जानकारी दिए ।

उनका अनुसार १०० जना विद्यार्थी भएका विद्यालयलाई ५ लाख, २०० जना विद्यार्थी भएका विद्यार्थीलाई १० लाख, ३०० जना विद्यार्थी भएका विद्यालयलाई १५ लाख रुपैँया ऋण दिइनेछ । त्यसभन्दा माथि ऋण चाहिने विद्यालयका हकमा भने तीन महिनाको खर्च विवरणका आधारमा ७० प्रतिशत ऋण उपलब्ध गराइनेछ । यसका लागि ५ ओटा विद्यालय एकापसमा मिलेर विवरण पेश गर्नुपर्ने उनले बताए । ‘घरभाडा, बैंकको किस्ता, शिक्षक कर्मचारीको तलब लगायत व्यवस्थापन गर्न हामीले मेगा बैंकसँग सम्झौता गरेका छौँ । यसले निजी विद्यालयलाई ठूलो राहत हुने अपेक्षा लिएका छौँ ।’ पुरीले बताए ।

व्याजदर र अवधि

मेगा बैंकसँगको ऋणको अवधि दुई वर्ष कायम गरिएको छ । व्याजदर १० प्रतिशत हुने पुरीले बताए । दुई वर्षमा ऋण चुक्ता नभए ऋण अवधि थप हुने तर त्यसका लागि धितो राख्नुपर्ने प्याब्सनले जनाएको छ ।

के के चाहिन्छ कागजात ?

प्याब्सन अध्यक्ष पुरीका अनुसार ऋण लिन प्याब्सन आबद्धता हुनुपर्नेछ । साथै, कम्पनी रजिष्टर कार्यालयबाट कम्पनी अद्यावधिक पत्र, अडिट रिपोर्ट, कर तिरेको प्रमाण पेश गर्नुपर्नेछ ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष दिपीका रिमाल थापाले कोभिडका कारण समस्यामा रहेका निजी विद्यालयका समस्या समाधानार्थ प्याब्सन केन्द्रीय समितिले पहल गरेको जानकारी दिइन ।