एकैदिन ९० जनामा कोरोना संक्रमण, २ वर्षीया बालिकामा पनि भेटियो संक्रमण

काठमाडौँ – २ वर्षिया बालिकासहित थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

संक्रमित हुनेहरु महोत्तरी, बारा, रौतहट, जुम्ला, बाँके, धनुषा, सिरहा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, रुपन्देही, कैलाली, अछाम, सुर्खेत र स्याङजाका छन् ।

महोत्तरीका २, बाराका ३, बारामैँ कार्यरत जुम्लाका २, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ७७२ पुगेको छ । हालसम्म ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जानकारी दिएको छ । संक्रमितमध्ये १५५ जना निको भएर घर फर्किएका छन् भने  ४ जनाको मृत्यु भैसकेको छ ।