आज साक्षरता दिवसः सबै मिलेर साक्षरता अभियान सफल पार्नुपर्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीसहित सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मङ्गलबार शुभकामना सन्देश प्रवाह गर्नुभएको हो ।

“संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ” शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, “विद्यालय जाने उमेर नाघेका नागरिकहरुका निमित्त जीवन उपयोगी शिक्षाका अवसरहरु प्रदान गर्दै जीवनपर्यन्त सिकाईका अवसरहरु जुटाउने विषय समेत सरकारको प्राथमिकतामा छ ।“

साक्षर तथा साक्षरोत्तर कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ भन्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आधारभूत र माध्यमिक शिक्षा लगायत अनौपचारिक खुला तथा वैकल्पिक निरन्तर सिकाई, विशेष शिक्षा र समुदायमा सञ्चालन हुने सिकाईका कार्यक्रम सम्बन्धी नीति, कानुन, योजना कार्यान्वयन अनुगमन मूल्याङ्कन नियमन लगायतका कार्यहरु स्थानीय तहले गर्नेगरी तोकिएको छ ।”

सरकारले १५ वर्ष र सोभन्दा माथि उमेर समूहका सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवनपर्यन्त सिकाईको आधार तयार गर्ने उद्देश्य राखेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।