शिक्षामा ८ अर्बले बढ्यो बजेट

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । यो गत वर्षको भन्दा ८ अर्ब बढी हो । चालु आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

आगामी शिक्षा बजेटमा दिवा खाजामा ७ अर्ब ५२ करोड, छात्रवृत्तिमा २ अर्ब ७० करोड, निशुल्क स्यानिटरी प्याडमा १ अर्ब ८२ करोड, शिक्षण स्वयसेवकका लागि २ अर्ब २३ र राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि ६ अर्ब विनियोजन गरिएको छ । यस्तै, निःशुल्क पाठ्यपुस्तककालागि २ अर्ब ७६ करोड, विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले यसवर्ष थप ६ हजार स्वयंसेवक शिक्षकका लागि २ अर्ब २३ करोड बजेट विनियोजन गरेको छ । सरकारले सार्वजनिक गरेको बजेटमा कोभिड–१९ का कारण पठनपाठनमा भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा, टेलिभिजन तथा रेडियोमार्फत नयाँ शैक्षिक क्षेत्रको पठनपाठन अगाडि बढाउने तयारी उल्लेख छ ।

यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय विद्यालय भवन र ३८ आंगिक क्याम्पस भवनको पुर्निर्माण गर्ने सरकारको तयारी छ । २ हजार ५२० कक्षाकोठा, १–१ हजारको संख्याको विज्ञान प्रयोगशाला, पुस्ताकलय र कम्प्युटर ल्याब स्थापना गरिने बजेटमा उल्लेख छ ।

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले २ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

१३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहलाई सशर्त अनुदान दिने अर्थमन्त्री खतिवडाले बताए । यसका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको उनले बताए ।

यस्तै, गणित विज्ञान जस्ता विषयका लागि थप स्वंसेवक शिक्षक राख्नका लागि २ अर्ब २३ करोड विनियोजन गरिएको छ ।